Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

(शार्दूलविक्रीडित छन्द)

धर्ती भासिन थाल्छ झैँ गरिरह्यो आकाश खस्ला सरी

“बिर्सी द्यौ” सजिलै भयौ हृदयले थेग्नै नसक्ने गरी
आएथ्यो मुटुछेउ केन्द्रित भई भूकम्प एकैछिन
रोयो बादल बेस्सरी धरधरी हामी छुटेको दिन ।।

कालो बादल गर्जियो गगनमा सौदामिनी चम्कियो
हावा तत्क्षण रोकियो र धरती नै घुम्न छाडी दियो
मेरो हृत्तल फुट्छ झैँ भइदियो थाले नयन् वर्षिन
रोयो बादल बेस्सरी धरधरी हामी छुटेको दिन ।।

चारैतर्फ अँध्यारियो, रवि स्वयम् कालो भई चिस्सियो
जसले शीतल छर्दथ्यो, शशि स्वयम् तातो भई निस्कियो
तातो वायु चल्यो र यो हृदयमा आई पुग्यो ठोक्किन
रोयो बादल बेस्सरी धरधरी हामी छुटेको दिन ।।

सारा तन्तुहरू र कोषहरु नै कामै नलाग्ने भए
काँप्यो थर्र शरीर यो कुँजिन गै थ्याच्चै भुईँ पल्टिएँ
अर्कैसङ्ग गयौ कठै मुटु लिई खोसी तिमीले किन
रोयो बादल बेस्सरी धरधरी हामी छुटेको दिन ।।

तिम्रो याद सदैव यो मुटुभरि काँडा बनी घोच्दछ
तिम्रो विम्ब सदैव यो नयनमा कोसी बनी बग्दछ
बिर्सूँ भन्दछु किन्तु याद दिनहुँ बल्झिन्छ तिम्रै किन ?
रोयो बादल बेस्सरी धरधरी हामी छुटेको दिन ।।

© कवीन्द्र कप्रल, गुल्मी ।

तपाईको प्रतिक्रिया