धादिङ – डाँडैडाँडाको एउटा यात्रा । बनैबनको एउटा यात्रा । माथीमाथीको एउटा फरक यात्रा – हिमालयन स्काई ट्रेल ।
धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवीभ्याली क्षेत्र अन्तर्गत निर्मित हिमालयन स्काई ट्रेल (तीनसुरे पदमार्ग) सञ्चालनमा आएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले एक विशेष समारोहकाबीच सो पदमार्गको उद्घाटन गर्नु भएसँगै पदमार्ग सञ्चालनमा आएको हो । धादिङको नेत्रतालबाट करीब ५० किलो मिटर दुरीको सो पदमार्ग निर्माण नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा निर्माण गरिएको हो । बोर्डले ४० लाख बजेट सो पदमार्ग निर्माणका लागि खर्च गरेको थियो । समुन्द्री सतहदेखि एक हजार ५०० फिटको उचाइमा रहेको नेत्रतालदेखि झण्डै ११ हजार उचाईमा रहेको तीनसुरे भञ्याङसम्म उक्त पर्यटकीय पदमार्ग निर्माण भएको हो ।
हिमालयन स्काई ट्रेल (तीनसुरे पदमार्ग)मा पहिलोदिन काठमाडौँदेखि नेत्रताल, दोस्रोदिन बगुवाखोला – कात्तिके हुँदै मनटारी, तेस्रोदिन फुलखर्क – गुम्दीहुँदै पोखराडाँडा, चौँथो दिन तीनसुरे भएर गङ्गा–जमुना र पाँचौं दिन पुनः फूलखर्क हुँदै मनटारी वा नेत्रताल आइ बस्न सकिने बताइएको छ । समय हुने पर्यटकले सोही भेगका अन्य गन्तव्यमा समेत जान सकिने बताइएको छ । थोरै दिनमा समग्र नेपाल चिन्नको लागि स्काई ट्रेल उपयुक्त हुनेछ ।