युएई– दक्ष जनशक्ति र खर्चिलो व्यवसायको रुपमा चिनिएको आइटी क्षेत्रमा प्रवासमा रहेका नेपालीहरुपनि आकर्षित हुन थालेका छन् । युनाईटेड अरव इमिरेट्स युएईको दुवईमा नेपालीहरुले सुचना तथा प्रविधि व्यवसायमा लगानी थालेका छन् ।
पाँचजना नेपालीहरुको सहकार्यमा स्थापना भएको सगरमाथा सेक्यूरिटी डिभाईस इक्युपमेन्ट ट्रेडिङ संचालनमा आइसकेको छ । यस ब्यवसाय अन्तर्गत सिसिटिभी, स्मार्टकार्ड, मोबाईल एप्स, सफ्टवेयर निर्माण, एक्सेस डोर, नेटवर्किङ, क्यु–म्यानेजमेन्ट सिष्टम लगायतका सेवा प्रदान गरिने संचालक त्रिलोचन दाहालले जानकारी दिनु भयो । उहाँले ‘व्यवसाय एक सेवा अनेक’ को सिद्धान्त अनुसार सुचना तथा सुरक्षा प्रविधिका विविध क्षेत्रमा सेवा दिने बताउनु भयो । नेपाल पत्रकार महासंघ युएईका उपाध्यक्ष समेत रहेका दाहाल नेपालमा एक दशकको पत्रकारिता पछि बैदेशिक रोजगारीको शिलशिलामा युएई आउनु भएको थियो । बैदेशिक रोजगारीका क्रममा सिकेको सिप र जोडेको सम्बन्धलाई ब्यवसायमा लगानी गर्ने उद्धेश्यले यस क्षेत्रमा लगानी गरेको उहाँले जानकारी दिनु भयो ।
प्रवासमा सामान्यतया नेपालीले संचालन गर्ने ब्यवसायका रुपमा रेष्टुरेन्ट, ब्युटि पार्लर, शैलुन र ट्राभल्स कम्पनी चिनिदै आएको छ । नेपालमा आईटीका क्षेत्रमा उत्कृष्ट जनशक्ति भएपनि तत्काल बजार नभएकाले युएईमा ब्यवसाय संचालन गरिएको एसएम टेक्नोलोजीका संचालक तथा प्रोजेक्ट म्यानेजर सुरेश पाण्डेले जानकारी दिनु भयो । दाहाल र पाण्डेसंगै कम्पनीमा दामोदर दाहाल, श्याम बस्याल र कमल घिमिरेको पनि लगानी छ ।
बर दुबईको अल राफ्फा प्र्रहरी चौकी नजिकै रहेको आईटी प्लाजामा शुरु गरिएको व्यवसायको नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा र एसएम टेकका अरबी स्पोन्सर मोहम्मब ओमारले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा युएईमा संगठित नेपाली विभिन्न सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिले ब्यवसाय सफलताको शुभकामना दिएका थिए । मजदुरीका लागि करिब चार लाख युवा रहेको युएईमा ब्यवसाय गर्ने नेपाली ब्यवसायीको संख्या करिब तीन सय पुगेको छ ।








