लण्डन – गैर आवासीय नेपाली संघ (एनआरएन ) बेलायत भित्र आर्थिक विवादमा मुछिएका पदाधिकारीहरुलाई निर्वाचन समितिबाट तत्काल खारेज गरी नयाँ निर्वाचन समिति गठन गर्न बेलायतका विभिन्न संघ संस्थाहरु लगायत नेपाली युवा समुह बेलायतले अनुरोध गरेको छ ।
आगामी १३ सेप्टेम्बरमा हुन लागेको छैटौ अधिबेशनका लागि सीमित व्यक्तिहरुले आफ्नै समुहका निर्वाचन समिति गठन गरेका छन् । चुनाब नजिकै आउन लागेपछि निर्वाचन समितिका केहि पदाधिकारीहरुले आफ्नै झुण्डको कोठे बैठक बसी नेपाली समाजलाई भड्काउने, जातिय मदभेदमा खिचातानी उत्पन्न गराउने जस्ता नकारात्मक घोटाला सुरु गरेको स्रोतले जनाएको छ ।
निर्वाचन समितिले कुनै पनि सूचना प्रकाशित नगरी नविकरण फारम परिवर्तन गर्न लागेको जानकारी गराएको छ । सदस्यहरुको आँखा छलेर स्वेच्छाचारी ढंगले गरिएको यस्तो निर्णयप्रति बेलायतबासी नेपालीहरुले घोर आपत्ति जनाएका छन् । एनआरएन बेलायत संस्थाको विधान र मूल्य मान्यता विपरित पदीय बाँडफाँड (चक्रिय) प्रणालीमा चलिरहेको छ । यस्तो अवैधानिक र लुछाचुँडीको विरोध गर्दै संस्थाभित्र भईरहेको विभिन्न नकारात्मक क्रियाकलापहरुको विरुद्घ नेपाली युवा समुह बेलायतले बारम्बार उठाईरहेको आवाजलाई संस्थाले बेवास्ता गर्दै आईरहेको जनगुनासो छ ।
एनआरएन बेलायतमा आर्थिक पारादर्शिता नभएपछि विवाद उत्पन्न हुंदा सत्यतथ्य विवरण पेश गर्न एनआरएन बेलायतका बरिष्ठ सल्लाहकार कमल गुरुङको संयोजकत्वमा राष्ट्र राई उपसंयोजक रहेको गठित आर्थिक छानविन समितिले आर्थिक विवरण तयार पारी प्रस्तुत गर्न बोलाउदा विवादमा मुछिएका महेन्द्र कँडेल र कुल आचार्य आफै उपस्थित नभई पन्छिन खोजेको र उल्टै विवरण सहि छैन भन्दै आरोप समेत लगाईएको आर्थिक छानविन समितिले जनाएको छ । यसरी आर्थिक छानविन समितिको विवरणलाई उलङ्घन गरिन्छ भने छानविन समिति गठन गर्नुको औचित्य माथि प्रश्नचीन्ह खडा भएको बताईएको छ ।
संस्थाको आर्थिक अनियमिताका कुरादेखि, नेतृत्वको तानाशाही र निरंकुश प्रबृत्तिको साथै केहि अवसरबादी ब्यक्तिहरुको हालिमुहालीको कारणले एनआरएन बेलायत सबैको साझा हुन नसकेको र सीमित ब्यक्ति र वर्गको पोल्टाभित्र मात्र राखिनुका साथै अझै पनि केहि व्यक्तिले मनपरितन्त्र चलाउन खोजेको बेलायत बासिन्दाहरुको गुनासो रहेको छ ।
एनआरएन बेलायतको यस्तो प्रतिकुल परिस्थितिमा समस्याहरुको समाधान गर्न नसकी, आफ्नो खल्तिको संस्था जस्तो सैद्धान्तिक मदभेद, गुटबन्दी र जातिय विषमता जस्ता कुराहरुलाई अंगाल्दै अबैधानिकरुपमा मनपरितन्त्र र अनैतिक ढंगमा नै यो संस्था चल्छ भने अब नेपाली युवा समुह बेलायतले विभिन्न सामाजिक संघ संस्थाहरुसंग समन्वय गरी समानान्तर एनआरएन बेलायतको स्थापनाको तयारी गरिने चेतावनी दिएको छ । ***








