टोकियो – गत साता तातेसिनामा भएको आठौं क्षेत्रीय सम्मेलनका लागि जापान आएका एनआरएन अग्रजहरुको सम्मानमा म्याग्देली सञ्जाल जापानले टोकियोमा एक साँगीतिक रात्रीभोज कार्यक्रम सम्पन्न गरेको छ ।
म्याग्दी जिल्लाको गलेश्वरमा रहेको नेपालको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा बृद्धाश्रम बनाईदिएर ठूलो राहत पुर्याएको भन्दै म्याग्देली सञ्जाल जापानले एनआरएन आईसीसीका अग्रजहरुलाई गत मंगलवार एक समारोहकाबीच सम्मान गरेको हो ।
समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले गलेश्वरधाममा बृद्धाश्रम निर्माण गरिदिएर एनआरएनहरुले ज्येष्ठ नागरिकहरुप्रति सम्मान प्रकट गरेको बताउनुभयो । उहाँले हिन्दुहरुका लागि प्रख्यात तिर्थस्थल मुक्तिनाथको प्रवेशद्वारकारुपमा रहेको पवित्र धार्मिकस्थल गलेश्वरधाममा बृद्धाश्रम अभियानमा हातेमालो गर्न जापानका म्याग्देलीहरु पनि जुर्मुराउन थालेको बताउनुभयो । 
यसैगरी बिशेष अतिथिको आसनबाट बोल्दै एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्टले एनआरएनले बृद्धाश्रम, विद्यालय भवन, क्रियापुत्री घर लगायतका परोपकारी कार्यमा सहयोग गर्दै आएको र गर्ने योजना रहेको बताउनुभयो ।
सो अवसरमा एनआरएन बेलायतका अध्यक्ष योगेन्द्र क्षेत्रीले गलेश्वरधाम वरिपरि रहेका बृद्धाहरुको नाजुक स्थिति र बन्दै गरेको बृद्धाश्रम भवनको अवस्था बारे जानाकारीमुलक भिडियो प्रदर्शन गर्नुभएको थियो भने गलेश्वरधाम शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले गलेश्वरधामको धार्मिक महत्वबारे प्रकाश पार्नुहुँदै आफ़्नै सन्तान तथा घरपरिवार, समाज र राज्यबाट अपहेलित बृद्धाहरुको निवास निर्माण कार्यमा सहयोग गर्न जापानबासीहरुलाई अपिल गर्नुभयो ।
म्याग्देली सञ्जाल जापानका अध्यक्ष महेन्द्र खड्काको सभापतित्वमा भएको सो कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार छक्कू उदासीले कार्यक्रम आयोजना गरिनुको औचित्यबारे प्रकाश पार्दै स्वागत मन्तब्य दिनुभएको थियो ।
राष्ट्रियगानबाट सुरु भएको सो कार्यक्रममा सञ्जालका सल्लाहकार जोन छन्त्याल, एनआरएनका आइसीसी सदस्य कुल आचार्य (युके), सचिव संगिता मरहठ्ठा, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रभात चलाउनेलगायतले बोल्नुभएको थियो ।
प्रमुख अतिथि राजदूत डा. भट्टराई र बिशेष अतिथि भवन भट्टले पानसमा दीप प्रज्वलन गरी उदघाटन गरिएको उक्त कार्यक्रममा विभिन्न कलाकर्मीहरुले नृत्य तथा गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा अतिथिहरुलाई देउराली समुहको नौमती बाजाको साथमा खादार्पण गरी सम्मान गरिएको थियो । 
कार्यक्रमको साँगीतिक चरणमा सुशिला सापकोटा र चट्टकुमारी पुनको थाली नृत्य, मनिषा खड्काको नृत्य, सूर्य खड्का र रामकृष्णबम मल्लको लोकगीत, अम्मर गुरुङ र बिमला गुरुङको आधुनिक गीत, मीरा राई, छक्कू उदासी र भद्र थापाद्वारा अभिनित वियोगान्त लघुनाटक ‘लाहुर’ प्रस्तुत गरिएको थियो ।
यसैगरी ‘देउराली पञ्चबाजा समुह’ को प्रस्तुती नौमती बाजाको तालमा ताल मिलाउदै सहभागीहरुले कम्मर मर्काइ मर्काइ नाचेका थिए भने बाजाको तालमा गायिका सरास्वती पुनले स्वर भरेकी थिईन् । 
कार्यक्रमको उत्तरार्धमा एनआरएन आइसीसीका सदस्य रोशन केसी (जापान) ले कार्यक्रमको समिक्षात्मक मन्तब्य राख्दै गलेश्वरधाममा बन्न लागेको बृद्धाश्रमका लागि म्याग्देलीहरुको उत्साह र सक्रियतामा आफ़्नो पनि साथ र सहयोग
रहने बताउनुभएको थियो ।
अन्तमा, सञ्जालका वरिष्ठ उपाध्यक्ष महेन्द्र वानियाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्बन्धित सबैमा धन्यबाद ज्ञापन गर्नुभएको थियो भने समापन मन्तब्य अध्यक्ष महेन्द्र खड्काले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सञ्जालका सल्लाहकार तिलक मल्ल र सचिव खेम मल्लको रहेको थियो ।
उक्त कार्यक्रमबाट गलेश्वरधाममा थप बृद्धाश्रम भवन निर्माणका लागि करिव १५ लाख ५० हजार रुपैंया संकलन गरिएको आयोजक स्रोतबाट थाहा भएको छ ।
सो अवसरमा थकाली सेवा समिति जापानको तर्फबाट सो संस्थाका संरक्षक शरदकुमार गौचनले पनि एनआरएनका अग्रज तथा नेपालबाट आउनुभएका अतिथिहरुलाई खादार्पण गरी सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गर्नुभएको थियो ।
रात्रीभोजसहितको उक्त कार्यक्रम सिन्जुकु खाबुखिचोस्थित प्याराडाईज टोकियो ओसकार हलमा भएको थियो ।***











