Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – हिरोशिमाबाट टोकियोका लागि उड्न लागेको ‘जापान एयरलाइन्स’ (जेएएल) को एक उडानमा खटिएकी ‘क्याबिन एटेन्डेन्ट’ (विमान परिचारिका) मा मदिराको मात्रा फेला परेपछि उडान प्रभावित भएको छ । ती कर्मचारीलाई तत्कालै अर्को कर्मचारीले प्रतिस्थापन गर्नुपरेका कारण उडान करिब ४० मिनेट ढिलो भएको कम्पनीले बुधबार जानकारी दिएको छ ।

गत शनिबार बिहान ७:४० बजे १८६ जना यात्रु बोकेर हिरोशिमा विमानस्थलबाट टोकियोको हानेदाका लागि प्रस्थान गर्नुपर्ने विमान परिचारिकाको स्वास्थ्य परीक्षणका कारण ८:२२ बजे मात्र उड्न सकेको थियो । जापान एयरलाइन्सका अनुसार ती परिचारिकाले अघिल्लो साँझ आफ्नै एक सहकर्मीसँग बसेर मदिरा सेवन गरेकी थिइन् । जाँचका क्रममा उनमा कम्पनीले तोकेको मापदण्डभन्दा बढी मदिराको मात्रा फेला परेको थियो । सोही उडानमा खटिने तयारीमा रहेका अर्का सहकर्मीले भने आफूले मदिरा पिएको बारे कम्पनीलाई पहिल्यै जानकारी गराएकाले उनलाई सुरुमै जिम्मेवारीबाट हटाइएको थियो ।

पछिल्ला केही वर्षयता जापान एयरलाइन्समा मदिरासँग सम्बन्धित विवादहरू एकपछि अर्को गर्दै बाहिर आइरहेका छन् । सन् २०२४ मा अष्ट्रेलियाको मेलबर्नबाट नारिताका लागि हुने उडानअघि चालक र सह-चालकले अत्यधिक मदिरा पिएको तथ्य लुकाउन खोजेको घटना सार्वजनिक भएको थियो । त्यस्तै, गत वर्ष होनोलुलुमा पाइलटको मदिरा परीक्षण ‘पोजिटिभ’ आएपछि जापानका लागि हुने उडान १८ घण्टाभन्दा बढी ढिलो भएको थियो ।

बारम्बार दोहोरिएका यस्ता घटनाप्रति बुधबार एक विज्ञप्ति जारी गर्दै जेएएलले भनेको छ, ‘मदिरासँग सम्बन्धित शृङ्खलाबद्ध घटनाले समाजमा कम्पनीप्रति अविश्वास पैदा गरेकोमा हामी सचेत छौँ र यसलाई अत्यन्त गम्भीरताका साथ लिएका छौँ ।’

तपाईको प्रतिक्रिया