Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमामा स्थायी आधार निर्माण गर्ने दीर्घकालीन योजनाअन्तर्गत चन्द्र सतहमा पठाइने रोबोटिक ल्यान्डर, हपिङ ड्रोन र भेहिकलहरू एवम् वैज्ञानिक उपकरणसम्बन्धी नयाँ विवरण सार्वजनिक गरेको छ ।

यी यान तथा उपकरण निर्माणका लागि अमेजनका संस्थापक जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनसहित विभिन्न निजी कम्पनीहरू छनोट गरिएका छन् ।

अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल समाप्त हुनुअघि, अर्थात् सन् २०२९ भित्र, आफ्ना अन्तरिक्ष यात्रीलाई पुनः चन्द्रमामा उतार्ने लक्ष्य राखेको छ । तर यो योजना वैज्ञानिक अभियानमा मात्र सीमित छैन । चीनसँग चन्द्रमामा पुनः मानव अवतरण गराउने प्रतिस्पर्धा तीव्र बन्दै गएकाले नासा नयाँ अन्तरिक्ष होडमा अग्रता कायम राख्ने दबाबमा देखिन्छ ।

चीनले पनि सन् २०३० सम्म चन्द्रमामा मानव उतार्ने लक्ष्य अघि सारेको छ । यसैबीच, सोमबार चीनले शेन्झोउ–२३ अन्तरिक्षयान प्रक्षेपण गर्दै आफ्ना अन्तरिक्ष यात्रीलाई तियाङगोङ अन्तरिक्ष स्टेशनतर्फ पठाएको छ । 

गत मार्चमा नासाले सन् २०३२ सम्म चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा स्थायी आधार निर्माण गर्ने करिब २० अर्ब अमेरिकी डलरको कार्यक्रम घोषणा गरेको थियो । उक्त आधारलाई सौर्य तथा आणविक ऊर्जाबाट सञ्चालन गर्ने योजना रहेकाे छ । नासाका प्रशासक जारेड आइज्याकम्यानले मंगलबारको घोषणापछि भने, “अमेरिकाले अब फेरि कहिल्यै चन्द्रमा छाड्ने छैन ।”

चन्द्रमामा स्थायी आधार स्थापना भए वैज्ञानिक अनुसन्धानलाई नयाँ गति मिल्ने, महत्त्वपूर्ण खनिज तथा स्रोत–साधनको सम्भाव्यता अध्ययन गर्न सकिने र भविष्यमा मंगल ग्रहतर्फको यात्रा सहज बनाउन सकिने नासाको विश्वास छ ।

चन्द्रमाको दक्षिणी ध्रुव विशेष महत्त्वको मानिन्छ । त्यहाँ जमेको पानी हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ । यस्तो पानी पिउन, अक्सिजन उत्पादन गर्न वा भविष्यका अन्तरिक्ष अभियानका लागि इन्धन बनाउन प्रयोग गर्न सकिने सम्भावना छ ।

तर नासाले अघि सारेको समयतालिका यथार्थपरक नभएको धेरै विज्ञहरूको भनाइ छ । अमेरिकाले अप्रिलमा आर्टेमिस–२ मिसनमार्फत चार अन्तरिक्ष यात्रीलाई चन्द्रमाको वरिपरि पठाउने सफलता पाए पनि, केही वैज्ञानिकहरू चीन नै आगामी मानव चन्द्र अवतरणमा अमेरिका भन्दा अघि पुग्न सक्ने आकलन गर्छन् ।

ओपन युनिभर्सिटीका चन्द्र वैज्ञानिक डा. सिमिओन बार्बरले बीबीसीसँग भने, “चीन पहिले पुगे पनि मलाई आश्चर्य लाग्ने छैन ।” उनका अनुसार नासाका लागि सबैभन्दा ठूलो चुनौती भनेको अन्तरिक्ष यात्रीलाई सुरक्षित रूपमा चन्द्र सतहमा उतार्ने यान तयार पार्नु हो । नासाको ‘इग्निसन मुन बेस’ कार्यक्रम तीन चरणमा अघि बढ्नेछ ।

पहिलो चरणमा मानिस पठाउनुअघि स्वचालित अवतरण यान र फड्को मार्दै अन्वेषण गर्ने ड्रोनहरू चन्द्र सतहमा पठाइनेछन् । तिनले कठिन भू–भागको अध्ययन, नक्सांकन र सुरक्षित अवतरणका लागि आवश्यक तथ्यांक संकलन गर्नेछन् । त्यसपछि चन्द्र सतहमा सामग्री ढुवानी गर्न सक्ने सवारीसाधन पठाइनेछ । ती सवारीले अन्तरिक्ष यात्रीलाई सतहमा आवतजावत गर्न सहयोग गर्नेछन् भने सञ्चार उपकरण र वैज्ञानिक सामग्री पनि बोक्नेछन् ।

मंगलबार नासाले ब्लु ओरिजिन, इन्टुइटिभ मेशिन्स र एस्ट्रोबोटिकलगायत कम्पनीहरूलाई यान तथा उपकरण निर्माणसम्बन्धी जिम्मेवारी दिइएको जनाएको छ । ब्लु ओरिजिनले निर्माण गर्ने ‘एन्ड्युरेन्स’ नामक चन्द्र अवतरण यानलाई अत्यन्त सटीक अवतरण, स्वचालित दिशा–निर्देशन र नियन्त्रण प्रणालीसहित तयार पारिनेछ । एस्ट्रोबोटिकको ‘ग्रिफिन–१’ अवतरण यान भने चन्द्रमाको दक्षिणी ध्रुव नजिक रहेको नोबिले क्रेटर क्षेत्रमा अवतरण गर्ने अपेक्षा गरिएको छ ।

यी यानहरूले नासाका लागि उच्च गुणस्तरका क्यामेरा, लेजरको परावर्तित प्रकाश प्रयोग गरी अवतरणमा सहयोग गर्ने उपकरण र अन्य वैज्ञानिक सामग्री चन्द्र सतहमा पुर्‍याउनेछन् । नासाका मुन बेस कार्यक्रमका कार्यकारी कार्लोस गार्सिया-गालानका अनुसार, सन् २०२९ सम्म रोबोटिक अन्वेषणको चरण जारी रहनेछ । यस अवधिमा २५ वटा प्रक्षेपणमार्फत करिब चार मेट्रिक टन सामग्री चन्द्र सतहमा पुर्‍याउने लक्ष्य राखिएको छ ।

दोस्रो चरणमा नासाले चन्द्रमामा ऊर्जा पूर्वाधार निर्माण गर्नेछ । यसअन्तर्गत सौर्य ऊर्जा प्रणालीसँगै आणविक विखण्डन रिएक्टर स्थापना गर्ने योजना छ । सन् २०३२ सम्म नासाले चन्द्रमामा मानिस लामो समयसम्म बस्न सक्ने आवास संरचना तयार गर्ने लक्ष्य राखेको छ । साथै लामो दूरी पार गर्न सक्ने रोभरमार्फत अन्तरिक्ष यात्रीहरूले चन्द्र सतहमा विस्तृत अध्ययन गर्न सक्नेछन् ।

तर यो सम्पूर्ण योजना एउटा मुख्य विषयमा निर्भर छ-मानिसलाई सुरक्षित रूपमा चन्द्र सतहमा पुर्‍याउने यान समयमै तयार हुन्छ कि हुँदैन भन्नेमा। एलन मस्कको कम्पनी स्पेसएक्सलाई ‘स्टारशिप ह्युमन ल्यान्डिङ सिस्टम’ निर्माणको जिम्मा दिइएको छ । तर उक्त परियोजनाले पटक-पटक प्राविधिक चुनौती र ढिलाइ बेहोर्दै आएको छ ।

डा. बार्बरका अनुसार, “सबैभन्दा निर्णायक चुनौती अन्तरिक्ष यात्रीलाई चन्द्र सतहमा सुरक्षित रूपमा उतार्नु नै हो ।”

उनले नासाको पछिल्लो घोषणामा वैज्ञानिक तयारीसँगै राजनीतिक दबाब पनि देखिएको टिप्पणी गरे । “नासा आफू योजनासहित अघि बढिरहेको देखाउनुपर्ने अवस्थामा पुगेको जस्तो लाग्छ,” उनले भने, “यसमा राजनीतिक प्रेरणा निकै बलियो देखिन्छ ।”

यसरी चन्द्रमामा स्थायी आधार बनाउने अमेरिकी योजना विज्ञान, प्रविधि र भू-राजनीतिक प्रतिस्पर्धाको नयाँ अध्यायका रूपमा अघि बढेको छ । तर लक्ष्य पूरा गर्न नासाले प्राविधिक चुनौती, समयसीमा र चीनसँगको तीव्र प्रतिस्पर्धा-तीनै मोर्चामा कठिन परीक्षा दिनुपर्नेछ । ***

तपाईको प्रतिक्रिया