टोकियो – जापानको राजधानी टोकियोस्थित सिबुया वार्डमा ‘होहल्ला’को विषयलाई लिएर भएको विवादमा आफ्नै छिमेकीलाई चक्कु प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले ७६ वर्षीय एक वृद्धलाई पक्राउ गरेको छ । घटना गत मंगलबार बिहान करिब ५:३० बजे घटेको हो ।
अभियुक्त वृद्धले आफ्नो फ्ल्याटको ठीक छेउमा बस्ने ६९ वर्षीय फिलिपिनी पुरुष र ६९ वर्षीया महिलाको ढोका ढकढक्याएर सुरुमा आवाज नगर्न चेतावनी दिएका थिए । चेतावनी दिएर आफ्नो कोठामा फर्किएका ती वृद्ध फेरि करिब १२ सेन्टिमिटर लामो भान्छामा प्रयोग हुने चक्कु बोकेर छिमेकीको कोठामा पुगेका थिए । उनले ढोका खुल्ने बित्तिकै ती वृद्ध दम्पतीमाथि अन्धाधुन्ध आक्रमण सुरु गरे ।
सोही भवनमा बस्ने अर्का एक भाडावालले बिहान ५:५० बजे प्रहरीको आपतकालीन नम्बर ११० मा फोन गरेर घटनाबारे जानकारी दिएका थिए । प्रहरीका अनुसार आक्रमणबाट पीडित दुवैको अनुहार र शरीरका अन्य भागमा गहिरो चोट लागेको छ । उनीहरूलाई तत्काल अस्पताल लगिएको र हाल उनीहरूको अवस्था गम्भीर भए तापनि खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन् ।
प्रहरीसँगको बयानमा अभियुक्तले आफ्नो अपराध स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘उनीहरूले बिहानको खाजा तयार पार्दा असाध्यै धेरै हल्ला गर्थे । यो समस्या लामो समयदेखि चलिरहेको थियो र मैले पटक-पटक सहन खोजेँ, तर अन्ततः मेरो धैर्यताको बाँध टुट्यो ।’
जापानका अपार्टमेन्टहरूमा छिमेकीबीच हुने यस्ता सानातिना विवादले उग्र रूप लिँदा सुरक्षा चुनौती थपिएको भन्दै समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन् । प्रहरीले अहिले ती वृद्धविरुद्ध ‘ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाएको छ ।








