काठमाडौँ – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको अमेरिकी ड्रोन खसालिएको दाबी गरेको छ। आईआरजीसीका अनुसार उक्त ड्रोनलाई शत्रुपक्षको विमानका रूपमा पहिचान गरेपछि खसालिएको हो। इरानले खसालिएको ड्रोन एमक्यू–९ रीपर रहेको जनाएको छ।
इरानी सेनाले यस घटनालाई आफ्नो हवाई क्षेत्र उल्लंघनको स्पष्ट उदाहरण भन्दै राष्ट्रिय सुरक्षाका लागि वैध अधिकार प्रयोग गरिएको दाबी गरेको छ। इरानले अमेरिका वा अन्य कुनै पक्षबाट युद्धविराम उल्लंघन भए त्यसको जवाफ दिने अधिकार आफूहरूसँग सुरक्षित रहेको पनि जनाएको छ। यसले क्षेत्रीय तनाव अझ बढ्न सक्ने संकेत गरेको छ।
हालसम्म अमेरिकी पक्षले ड्रोन खसालिएको इरानी दाबीबारे औपचारिक प्रतिक्रिया दिएको छैन। यसअघि अमेरिकी सेनाले इरानका रकेट प्रक्षेपणस्थलहरूमा रक्षात्मक कारबाही गरेको जनाएको थियो।








