टोकियो – जापानको चिबा प्रान्तस्थित इचिकावा नगरपालिकाले स्थानीय एक मस्जिदलाई ‘इद उल-अधा’ (बकरइद)को अवसरमा सार्वजनिक पार्क प्रयोग गर्न दिएको निवेदन फिर्ता लिन आग्रह गरेको छ । विगत २७ वर्षदेखि सोही पार्कमा धार्मिक र सांस्कृतिक उत्सव मनाउँदै आएको मस्जिदका सदस्यहरू नगरपालिकाको यस आकस्मिक निर्णयबाट अन्योलमा परेका छन् ।
टोकियो मेट्रोको ग्योतोकु स्टेशन नजिकै रहेको ‘हिरा मस्जिद ग्योतोकु’ सन् १९९७ मा स्थापना भएदेखि नै स्थानीय ‘मिनामिओकी पार्क’ को केही भाग प्रयोग गर्दै आएको थियो। मस्जिदका अनुसार उनीहरूले हरेक वर्ष रमजानको अन्त्य (इद उल-फित्र) र बकरइदका अवसरमा त्यहाँ सामूहिक नमाज पढ्ने र विभिन्न स्टलहरू राख्ने गर्दथे ।
मस्जिदले आगामी मे २७ मा हुने इदका लागि पार्क प्रयोग गर्न निवेदन दिएको थियो । तर, मे १९ मा नगरपालिकाका अधिकारीहरूले उक्त निवेदन फिर्ता लिन आग्रह गरे । मस्जिदका एक प्रतिनिधिका अनुसार नगरपालिकाले “धेरै मानिस भेला हुँदा नजिकैका बासिन्दाले पार्क प्रयोग गर्न नपाउने” तर्क अघि सारेको छ ।
नगरपालिकाको ‘पार्क तथा हरियाली व्यवस्थापन विभाग’ को आन्तरिक नियमअनुसार सार्वजनिक पार्कमा राजनीतिक वा धार्मिक विचारधारा प्रवर्द्धन गर्ने कार्यक्रम गर्न निषेध गरिएको छ । यद्यपि, विगतमा केवल प्रार्थना (नमाज) गर्दा नियम उल्लंघन नहुने ठहर गर्दै सहरले अनुमति दिँदै आएको थियो । यसपटक अधिकारीहरूले निवेदन फिर्ता लिन आग्रह गरेको विषयमा स्पष्ट जवाफ दिन भने अस्वीकार गरेका छन् ।
मस्जिदले विगत ३० वर्षदेखि स्थानीय टोल विकास संस्थासँग मिलेर सरसफाइ र सामुदायिक कार्यक्रमहरू गर्दै आएको छ । मस्जिदका प्रतिनिधिले भने, ‘हामी स्थानीय बासिन्दासँग मिलेर बस्न चाहन्छौँ । पार्क प्रयोग गर्न नपाए ठूलो सङ्ख्यामा आउने मुस्लिमहरू सडकमा ओर्लन सक्छन्, जसले गर्दा आवागमनमा समस्या र सुरक्षा जोखिम बढ्न सक्छ ।’
स्थानीय टोल विकास संस्थाका प्रमुखले पनि मस्जिदको पक्षमा बोल्दै उनीहरूले सधैँ नियम पालना गर्ने प्रयास गरेको बताएका छन् । उनले भने, ‘सुरुका दिनमा केही समस्या भए पनि अहिले मस्जिद र स्थानीयबीच कुनै ठूलो विवाद छैन । हामी छिमेकीका रूपमा मिलेर बस्न चाहन्छौँ ।’








