टोकियो – जापानमा ‘सेभेन-इलेभेन’ का संस्थापक तथा कन्भिनियन्स स्टोर उद्योगका जन्मदाता मानिने तोशिफुमी सुजुकीको ९३ वर्षको उमेरमा निधन भएको छ । ‘सेभेन एन्ड आई होल्डिङ्स’का अनुसार सुजुकीको गत मे १८ का दिन हृदयघातका कारण निधन भएको हो ।
सन् १९३२ मा नागानो प्रान्तमा जन्मिएका सुजुकीले पुस्तक थोक बिक्रेताको रूपमा आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए । सन् १९६३ मा उनी प्रसिद्ध खुद्रा विक्रेता ‘इतो-योकादो’ मा आबद्ध भए । त्यसबेला जापानमा साना पसलहरूको भविष्य नभएको भन्दै धेरैले शङ्का व्यक्त गरिरहेका बेला सुजुकीले साहसी कदम चाले । उनले अमेरिकी कम्पनी ‘साउथल्याण्ड कर्पोरेशन’सँग सम्झौता गरी सन् १९७३ मा ‘सेभेन-इलेभेन जापान’ को स्थापना गरे र अर्को वर्ष टोकियोमा पहिलो स्टोर खोले ।
सुजुकीले जापानी खुद्रा व्यापारमा तथ्याङ्कको प्रयोग गरी सामानको माग र आपूर्ति व्यवस्थापन गर्ने आधुनिक विधिको सुरुवात गरेका थिए । उनले तयार खाजा र सामानको छिटो खपत हुने व्यापारिक मोडल तयार पारे, जसले गर्दा कन्भिनियन्स स्टोरहरू जापानी जनजीवनको अभिन्न अङ्ग र अर्थतन्त्रको मेरुदण्ड बन्न पुगे ।
सन् १९९० को दशकको सुरुतिर सेभेन-इलेभेनको अमेरिकी मातृ कम्पनी ‘साउथल्याण्ड कर्पोरेशन’ भारी ऋणका कारण टाट पल्टिने अवस्थामा पुगेको थियो । सुजुकीले उक्त कठिन समयमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै कम्पनीको सफल पुनर्संरचना गरे र यसलाई उद्धार गर्न सफल भए । यो घटनालाई विश्व कर्पोरेट जगतमा जापानी व्यवस्थापनको ठूलो सफलताका रूपमा लिइन्छ ।
सुजुकीले नै सन् २००५ मा ‘सेभेन एन्ड आई होल्डिङ्स’ को स्थापना गरे र यसलाई एक विशाल बहुराष्ट्रिय खुद्रा व्यापारिक समूहका रूपमा विस्तार गरे । सन् २०१६ मा व्यवस्थापन सम्बन्धी विवादका कारण अध्यक्ष पदबाट राजीनामा दिए तापनि उनी जापानको खुद्रा उद्योगमा सधैँ एक प्रभावशाली र आदरणीय व्यक्तित्वका रूपमा रहे । किताब पढ्न निकै रुचि राख्ने सुजुकीको निधनले जापानी व्यावसायिक जगतमा एक अपूरणीय क्षति पुगेको अर्थविद्हरूले बताएका छन् ।








