काठमाडौँ – पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटाको चमन गेट नजिक यात्रुवाहक रेलमा आत्मघाती बम आक्रमण भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार यात्रुले भरिएको रेललाई लक्षित गरेर गरिएको विस्फोटमा कम्तीमा २३ जनाको मृत्यु भएको छ भने ५३ जना गम्भीर घाइते भएका छन् ।
घटनापछि सुरक्षा निकायले क्षेत्रलाई घेराबन्दी गरेर अनुसन्धान सुरु गरेको छ । घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकहरूका अनुसार केही घाइतेको अवस्था चिन्ताजनक रहेको छ ।
प्रारम्भिक अनुसन्धानमा यो हमला योजनाबद्ध रूपमा गरिएको देखिएको अधिकारीहरूले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।








