टोकियो – जापानको ओकिनावा प्रान्तमा तैनाथ एक अमेरिकी सैनिकले एक महिलामाथि यौन दुर्व्यवहार गरी घाइते बनाएको अभियोगमा जापानी प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाएको छ । जापानी अनुसन्धान स्रोतका अनुसार २० वर्ष उमेर समूहका ती सैनिकले गत अप्रिल महिनामा आफ्नै चिनजानकी एक महिलामाथि यौन हिंसा गर्नुका साथै कुटपिट गरी घाइते बनाएको आशङ्का गरिएको छ ।
सैनिक अधिकारीमाथि लागेको आरोप अनुसार, उनले ती महिलामाथि शारीरिक हिंसा गरी घाइते बनाएका थिए । त्यसपछि उनी कार चढेर घटनास्थलबाट अमेरिकी सैन्य आधार शिविरतर्फ भागेका थिए । भाग्ने क्रममा उनले केही भौतिक क्षति समेत पुर्याएको तर त्यसको जानकारी प्रहरीलाई नदिएको अर्को अभियोग पनि उनीमाथि छ ।
पीडित महिलाका आफन्तले उजुरी दिएपछि प्रहरीले सैन्य आधार शिविरभित्रै पुगेर ती सैनिकसँग स्वेच्छिक सोधपुछ गरेको थियो । अनुसन्धान पूरा भएपछि प्रहरीले शुक्रबार सरकारी वकिलकहाँ यससम्बन्धी कागजातहरू बुझाएको हो । अभियुक्तले आफूमाथि लागेको आरोप स्वीकार गरे वा नगरेको भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन ।
जापान र अमेरिकाबीच भएको ‘स्टाटस अफ फोर्सेस एग्रिमेन्ट’को प्रावधान अनुसार, यदि कुनै अमेरिकी सैन्य अधिकारी वा कर्मचारीले कार्य समय बाहेकको समयमा जापानमा अपराध गरेमा त्यसमा जापानको कानुनी क्षेत्राधिकार आकर्षित हुन्छ । यद्यपि, सोही सम्झौता अनुसार यदि अभियुक्त अमेरिकी सेनाको नियन्त्रणमा छ भने जापानी सरकारी वकिलले अदालतमा औपचारिक रूपमा मुद्दा दायर नगरेसम्म ती व्यक्ति अमेरिकी हिरासतमै रहने व्यवस्था छ ।
ओकिनावामा अमेरिकी सेनाको उपस्थितिलाई लिएर स्थानीय बासिन्दाहरूले लामो समयदेखि विरोध गर्दै आएका छन् । यस प्रकारका अपराधिक घटनाहरूले स्थानीय र अमेरिकी सेनाबीचको सम्बन्धमा थप तनाव पैदा गर्ने देखिएको छ ।








