Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – पश्चिमी जापानको ह्योगो प्रान्तमा रहेका दुईवटा मध्यकालीन ऐतिहासिक घरहरूलाई ‘राष्ट्रिय खजाना’को रूपमा सूचीकृत गरिने भएको छ । जापानको इतिहासमा कुनै पनि निजी घरहरूलाई राष्ट्रिय खजाना घोषणा गरिएको यो पहिलो पटक हो ।

जापानको सांस्कृतिक मामिला एजेन्सीको एक विज्ञ टोलीले शुक्रबार यी संरचनाहरूलाई देशको सर्वोच्च सांस्कृतिक दर्जा दिन सिफारिस गरेको हो । राष्ट्रिय खजानाको सूचीमा पर्न सफल पहिलो घर कोबे सहरमा अवस्थित ‘हाकोगिकेजुताकु ओमोया’ हो । यो चौधौँ शताब्दीतिर एक शक्तिशाली स्थानीय वंशले निर्माण गरेको मानिन्छ ।

खरले छाएको यस घरको भुइँ र ढोकाहरूमा तत्कालीन सिकर्मीहरूले प्रयोग गरेका परम्परागत औजारका डोबहरू अझै सुरक्षित छन् । यसले सात सय वर्षअघिको निर्माण प्रविधिलाई बुझ्न महत्त्वपूर्ण आधार प्रदान गरेको छ । त्यस्तै, हिमेजी सहरमा रहेको ‘क्यु–फुरुइकेजुताकु’लाई पनि राष्ट्रिय खजाना घोषणा गरिएको छ । यो १५औँ शताब्दीतिरका शक्तिशाली किसान परिवारको निवास हो । माटोले लिपिएका बाक्ला पर्खालहरू र थोरै मात्र सङ्ख्यामा रहेका झ्याल–ढोका यसका मुख्य विशेषता हुन्, जसले तत्कालीन ग्रामीण सुरक्षा र वास्तुकलालाई झल्काउँछ ।

यी दुवै घरले मध्यकालीन जापानका प्रभावशाली परिवारहरूको घरेलु जीवनशैली बुझ्न असाधारण सहयोग पुर्‍याउने विज्ञहरूको ठहर छ । यो नयाँ घोषणासँगै जापानमा राष्ट्रिय खजाना घोषित संरचनाहरूको कुल सङ्ख्या २३५ पुगेको छ ।

सरकारले अन्य ६ वटा संरचनालाई पनि ‘महत्वपूर्ण सांस्कृतिक सम्पदा’को सूचीमा समावेश गरेको छ । तीमध्ये साइतामा प्रान्तको कावागोए सहरमा रहेको प्रसिद्ध ‘हिकावा जिन्जाको मुख्य हल रहेको छ । यस मन्दिरमा काठबाट कुँदिएका उत्कृष्ट कलाकृतिहरूले जापानी पौराणिक कथाहरूलाई कलात्मक रूपमा प्रस्तुत गरेका छन् ।

यसैगरी, निगाता प्रान्तको सादो सहरमा रहेको ‘हिमेसाकी तोडाइ’ लाइटहाउस पनि यो सम्मान पाउन सफल भएको छ । मेइजी कालमा निर्माण गरिएको यो लाइटहाउस जापानकै सबैभन्दा पुरानो स्टिलबाट बनेको र हालसम्म सञ्चालनमा रहेको लाइटहाउस हो । जापानले आफ्नो प्राचीन वास्तुकला र ऐतिहासिक विरासतलाई संरक्षण गर्न यस्ता कदमहरूलाई तीव्रता दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया