काठमाडौँ – वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको नयाँ चलचित्र ‘कमला मिस’को टिजर सार्वजनिक गरिएको छ। मनोवैज्ञानिक कथामा आधारित चलचित्रको टिजरमा रहस्य, मानसिक द्वन्द्व र भावनात्मक पक्षलाई प्रस्तुत गरिएको छ। साहित्यकार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित यो चलचित्रमार्फत निर शाह करिब १० वर्षपछि पुनः निर्देशनमा फर्किएका हुन्।
चलचित्रमा निर शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडालगायत कलाकारको अभिनय रहेको छ। विजय मल्ल स्मृति प्रतिष्ठानका लागि निर्माण गरिएको चलचित्रमा उमेश मल्ल, चैतन्य प्रधान, रमेश बाबु श्रेष्ठ र राम भट्टराई कार्यकारी निर्माताका रूपमा रहेका छन्। चलचित्रको कथा विजय मल्लको हो भने पटकथा र संवाद निर शाह, प्रजल दुलाल तथा सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।
फिल्ममा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। ‘कमला मिस’ आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।








