टोकियो – टोकियोको मिनातो वार्डस्थित टोकियो क्षेत्रीय अध्यागमन ब्यूरोको भवनमा एक विदेशी नागरिकले आत्महत्याको प्रयास गरेपछि निकै तनावपूर्ण स्थिति सिर्जना भएको छ । टर्किस (टर्कीका) नागरिक मानिएका ती व्यक्तिले भवनको आठौं तलाबाट हामफाल्ने धम्की दिएका थिए ।
प्रहरीका अनुसार, अध्यागमनको हिरासतमा रहेका ती व्यक्ति दिउँसो करिब १२:२५ बजे आफ्नो ‘डिटेन्सन सेल’ (हिरासत कक्ष) बाट उम्कन सफल भएका थिए । उनी सिधै भवनको आठौं तलामा पुगेर त्यहाँबाट हामफाल्ने भन्दै अधिकारीहरूलाई धम्काउन थालेका थिए ।
घटना लगत्तै अध्यागमनका अधिकारी र सुरक्षाकर्मीहरूले उनलाई सम्झाउने र सुरक्षित रूपमा तल ओराल्ने प्रयास सुरु गरेका थिए । करिब साढे तीन घण्टा लामो खिचातानी र वार्ता पछि, अपराह्न ४ बजे अधिकारीहरूले उनलाई आत्महत्या गर्ने निर्णयबाट पछि हटाउन सफल भएका थिए। अधिकारीहरूका अनुसार यस घटनामा उनलाई कुनै शारीरिक चोटपटक लागेको छैन ।
उनी कुन परिस्थितिमा हिरासतबाट उम्किए र किन यस्तो चरम कदम चाल्न खोजे भन्नेबारे अहिले थप अनुसन्धान भइरहेको छ । जापानका अध्यागमन केन्द्रहरूमा विदेशी नागरिकहरूलाई लामो समयसम्म हिरासतमा राख्ने गरिएको भन्दै बेलाबेला मानव अधिकारका विषयमा बहस हुने गरेकै समयमा यो घटना सार्वजनिक भएको हो ।








