Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानको वातावरण मन्त्रालयले देशको उत्तर-पूर्वी क्षेत्रमा भालुको आक्रमणमा तीव्र वृद्धि भएपछि उनीहरूको सङ्ख्या र आवतजावतको विस्तृत सर्वेक्षण गर्ने भएको छ । आउँदो जुन महिनादेखि सुरु हुने यस अभियानका लागि पहाडी भेगका विभिन्न स्थानमा करिब ८०० वटा विशेष ‘क्यामरा ट्र्याप’ जडान गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, जापानको ‘तोहोकु’ क्षेत्रका ६ वटा प्रान्तहरू आओमोरी, आकिता, इवाते, यामागाता, मियागी र फुकुसिमा तथा छिमेकी निगाता प्रान्तमा रहेका ‘ब्ल्याक बियरको गणना गर्न स्वचालित क्यामराहरू प्रयोग गरिनेछ। यस सर्वेक्षणको नतिजा सम्भवतः आगामी वर्षको सुरुवातमै सार्वजनिक गरिनेछ ।

भालुको सङ्ख्या गणना गर्ने यो योजना यस्तो समयमा आएको छ, जब जापानमा भालुको आक्रमणबाट घाइते वा मारिनेहरूको सङ्ख्याले ऐतिहासिक रेकर्ड कायम गरेको छ । गत मार्चसम्मको एक वर्षको अवधिमा जापानभर २३८ जना भालुको शिकार भएका छन् । हालैको मन्त्रिस्तरीय बैठकमा अघिल्लो वर्षको तुलनामा यस वर्षको अप्रिल महिनामा भालु देखिएका घटनाहरूमा निकै वृद्धि भएको प्रतिवेदन पेश गरिएको थियो ।

उत्तरी टापु हक्काइडोमा पाइने ‘ब्राउन बियर’ (खैरो भालु) को गणनाका लागि भने मन्त्रालयले उनीहरूको शरीरको रौँ सङ्कलन गरेर सङ्ख्या अनुमान गर्ने विधि अपनाउने भएको छ । यसैगरी, पश्चिमी जापानको शिकोकु टापुमा रहेको थोरै सङ्ख्याको भालुको पनि सर्वेक्षण गरिनेछ । यद्यपि, क्युशु टापुमा भने भालु लोप भइसकेको विश्वास गरिएकाले त्यहाँ कुनै अनुसन्धानको योजना बनाइएको छैन ।

सरकारी तथ्याङ्कअनुसार हाल तोहोकु क्षेत्रमा १९,००० भन्दा बढी कालो भालु र हक्काइडोमा ११,६०० खैरो भालु रहेको अनुमान छ । वातावरण मन्त्रालयले आर्थिक वर्ष २०२७ सम्ममा जापानका अन्य क्षेत्रहरूमा पनि यो सर्वेक्षण विस्तार गर्ने लक्ष्य राखेको छ । जङ्गलमा खाद्यान्नको कमी र ग्रामीण भेगमा मानिसहरूको बस्ती पातलिँदै जाँदा भालुहरू खानेकुराको खोजीमा मानव वस्तीसम्म पुग्ने क्रम बढेको विज्ञहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया