टोकियो – रोजगारीको सिलसिलामा जापानमा रहेका सुदूरपश्चिम प्रदेश, बैतडी जिल्ला निवासी रमेश बहादुर चन्दको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि नेपाल पठाइएको छ । गत मे ९ तारिखका दिन मस्तिष्कको नसा सम्बन्धी समस्या देखिएपछि अस्पताल लैजाने क्रममा हृदयाघात (हर्ट अट्याक) भई चन्दको दुःखद निधन भएको थियो ।
मृतकको परिवारको आग्रह र इच्छाअनुसार उनको शव नेपाल पठाउन सुदूरपश्चिमेली नेपाली समाज जापानले विशेष आर्थिक संकलन अभियान सञ्चालन गरेको थियो । समाजले सञ्चालन गरेको एक हप्ते अभियानमा जापानमा रहेका विभिन्न संघ-संस्था र परोपकारी नेपालीहरूबाट सहयोग प्राप्त भएको छ । अभियानमार्फत कुल २ लाख ४८ हजार ५ सय जापानी येन संकलन भएको समाजका कोषाध्यक्ष सुमित रोकायाले जानकारी दिए । संकलित रकममध्ये ट्रान्सफर शुल्क कटाएर बाँकी रहेको रकम मृतककी श्रीमती सुशीला चन्दको जापानस्थित बैंक खातामा जम्मा गरिदिएको समाजले जनाएको छ ।
चन्दको शव नेपाल पठाउने यस मानवीय कार्यमा गैरआवासीय नेपाली संघ जापानले ३० हजार येन सहयोग गरेको छ । त्यस्तै नेपाली समाज जापान, स्याङ्जा समाज जापान, बाँके-बर्दिया मैत्री समाज लगायत व्यक्तिगत रूपमा ५९ जनाभन्दा बढी सहयोगी हातहरूले आर्थिक योगदान पुर्याएका छन् ।
आवश्यक कानुनी र प्रक्रियागत कार्य पूरा गरी मृतक चन्दको पार्थिव शरीर गत मे २० तारिखका दिन जापानबाट नेपाल पठाइएको छ । सुदूरपश्चिमेली नेपाली समाजले दुःखद घडीमा साथ दिने सम्पूर्ण संघ-संस्था र महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।








