काठमाडौँ – प्रतिनिधिसभाको बैठकमा आज विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । संसद् सचिवालयका अनुसार बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ६ दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने स्वयं बोल्ने वा दलका उपनेताले सम्बोधन गर्ने भन्ने विषय भने अझै टुंगिएको छैन । यसबारे निर्णय गर्न केहीबेरमा संसदीय दलको बैठक बस्ने रास्वपाका सचेतक प्रकाशचन्द परियारले बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्दाम्बे, नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रचण्डले विशेष समय माग गरेर बोल्न लागेका हुन् । निर्वाचित भएपछि संसदमा उनले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।
सोमबार बसेको दलको बैठकमा सरकारले संसदलाई छल्दै अध्यादेश ल्याएको तथा उचित व्यवस्थापन नगरी काठमाडौं उपत्यकाका नदी किनारका सुकुम्बासी बस्ती हटाएको विषयमा सरकारलाई खबरदारी गर्ने निर्णय गरिएको थियो । त्यस्तै श्रम संस्कृति पार्टीका नेता हर्कबहादुर राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले पनि बैठकमा सम्बोधन गर्नेछन् । बजेट अधिवेशनको पहिलो दिन सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।








