टोकियो – टोकियो नजिकै गुडिरहेको ‘जेआर तोकाइदो लाइन’को रेलभित्र आइतबार अपराह्न एउटा रहस्यमय गन्ध फैलिएपछि एकै परिवारका तीन सदस्यलाई अस्पताल भर्ना गरिएको छ । रेलभित्र कसैले अज्ञात पदार्थ ‘स्प्रे’ गरेको आशङ्कापछि आपत्कालीन उद्धार टोली परिचालन गरिएको थियो ।
प्रहरीका अनुसार अस्पताल लगिनेहरूमा ३५ वर्षीया महिला, उनका पति र एक वर्षीया छोरी रहेका छन् । ती महिलाले आफ्नो घाँटीमा जलन महसुस भएको बताएकी थिइन् । उनीहरू कसैलाई पनि गम्भीर चोट नलागेको भए पनि थप परीक्षणका लागि अस्पताल लगिएको हो । रेलको सोही डिब्बामा सवार अन्य केही यात्रुहरूले पनि अनौठो गन्ध आएको महसुस गरेका थिए ।
रेल सञ्चालक ‘जेआर इस्ट’का अनुसार उक्त रेल कानागावा प्रान्तको ओडावाराबाट गुन्मा प्रान्तको ताकासाकीतर्फ गइरहेको थियो । योकोहामा र कावासाकी स्टेशनबीच रेल गुडिरहेका बेला करिब ४:३० बजे उक्त घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो । घटना लगत्तै रेललाई कानागावा प्रान्तको कावासाकी स्टेशनमा रोकेर अग्नि नियन्त्रक र प्राविधिकहरूको टोलीले निरीक्षण गरेको थियो । विस्तृत जाँचपछि पनि रेलभित्र कुनै हानिकारक ग्यास वा विषालु पदार्थ फेला नपरेको अग्नि नियन्त्रक विभागले जनाएको छ ।
प्रहरीले रेलभित्र वास्तवमै केही स्प्रे गरिएको थियो वा यो अन्य कुनै प्राविधिक कारणले आएको गन्ध थियो भन्नेबारे अनुसन्धान गरिरहेको छ । जापानका व्यस्त रेल सेवाहरूमा यस्ता शङ्कास्पद घटनालाई निकै गम्भीरताका साथ लिने गरिन्छ, जसका कारण केही समय रेल सेवा समेत प्रभावित भएको थियो ।








