टोकियो – जापानका विभिन्न ११ वटा प्रान्तमा रहेका १६७ वटा खाली घरहरूमा पसेर नगद तथा बहुमूल्य सामान चोरी गर्ने तीनजना थाई नागरिकलाई इबाराकी प्रान्तको प्रहरीले अभियोजनका लागि पठाएको छ । ३० वर्ष उमेर समूहका यी तीन व्यक्तिले करिब २ करोड ४० लाख येन बराबरको धनमाल लुटपाट गरेको आरोप छ ।
ती पुरुषहरूलाई गत वर्षको जुलाईमा इबाराकी प्रान्तको होकोता सहरस्थित एउटा घरमा चोरी गरेको आशंकामा पक्राउ गरिएको थियो । उनीहरूले सन् २०२४ को नयाँ वर्षको दिनमा एउटा घरको ताल्चा फोरेर १ लाख ७० हजार येन नगद र अन्य सामान चोरेका थिए । प्रहरीको विस्तृत अनुसन्धानबाट के खुलेको छ भने यो गिरोहले सन् २०२४ को अक्टोबर अन्त्यदेखि २०२५ को जुलाईसम्मको मात्र आठ महिनाको अवधिमा १६७ वटा चोरीका घटनाहरू घटाएका थिए । उनीहरूले इबाराकी लगायत ११ वटा विभिन्न प्रान्तहरूलाई आफ्नो निशाना बनाएका थिए ।
यस अवधिमा उनीहरूले करिब ६४ लाख येन नगद र १७.६ मिलियन येन (करिब १ करोड ७६ लाख येन) बराबरका महँगा घडी, गहना र अडियो उपकरणहरू चोरी गरेको पुष्टि भएको छ । प्रहरीका अनुसार ती व्यक्तिहरू कार चढेर विभिन्न आवासीय क्षेत्रमा घुम्ने गर्दथे । उनीहरूले विशेष गरी त्यस्ता घरहरू खोज्दथे जसको बगैँचा हेरचाह नगरिएको (झाडी पलाएको) हुन्थ्यो वा जसको पार्किङ क्षेत्र खाली हुन्थ्यो । बगैँचा र पार्किङको अवस्था हेरेर घरमा कोही नभएको सुनिश्चित गरेपछि मात्र उनीहरू भित्र पस्ने गर्दथे ।
यो गिरोहले सबैभन्दा बढी इबाराकी प्रान्तमा १३८ वटा चोरीका घटनाहरू गराएको पाइएको छ । यसका साथै ओसाका र ह्योगो प्रान्तका घरहरूमा पनि उनीहरूले लुटपाट मच्चाएका थिए । प्रहरीले बिहीबार उनीहरूविरुद्धको थप मुद्दा अभियोजनकर्ताको कार्यालयमा बुझाएको छ ।








