काठमाडौं – कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधिको शासनलाई मिचेर स्वार्थप्रेरित कार्य गर्ने प्रवृत्तिको कडा आलोचना गरेकी छिन् । शनिबार कानुन दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैधानिक परम्पराको हत्या गर्ने कार्यले निरङ्कुशताको झल्को दिने टिप्पणीगरेकी हुन् ।
परिवर्तनका नाममा विद्यमान संरचना भत्काएर आफ्नो उत्कृष्टता स्थापना गर्न खोज्ने प्रयासले सत्तामा बस्नेहरूको स्वार्थ पूरा भए पनि न्यायको अपेक्षा राख्ने आम नागरिकको सपना भङ्ग हुने उनले बताइन् । ‘संरचना भत्काएर आफ्नो परिवेश अनुकूलको उत्कृष्टता देखाउन खोज्दा शासकको धित त मर्ला, तर विधिको शासन चाहनेहरूको आशा समाप्त हुन्छ,’ उनले भनिन् ।
औचित्यताको दुहाई दिँदै कानुनमा छेडखानी गर्ने कार्य लोकतान्त्रिक पद्धतिका लागि घातक हुने उनको तर्क थियो । यस्ता कार्यलाई स्वेच्छाचारिताको संज्ञा दिँदै उनले भनिन्, ‘शासकका लागि विधि मिच्नु स्वाभाविक लागे पनि विधिको शासनमा विश्वास गर्नेहरूका लागि यो कदापि सह्य हुँदैन ।’
कामु प्रधानन्यायाधीश मल्लले विधिको शासनविरुद्ध हुने षडयन्त्रका विरुद्ध सबै एकजुट भएर उभिनुपर्नेमा जोड दिइन् । न्याय र विधिको रक्षाका लागि त्यस्ता प्रवृत्तिका विरुद्ध उठ्ने आँट, औकात र प्रतिबद्धता सबै नागरिक तथा सरोकारवालाले देखाउनुपर्ने उनको भनाइ थियो ।








