टोकियो – जापानको ओसाका सहरस्थित एक होटलको कोठामा शनिबार बिहान एक युवती मृत फेला परेकी छिन् । प्रहरीले यसलाई ‘शंकास्पद हत्या’को रूपमा लिएर अनुसन्धान तीव्र पारेको छ ।
टीभी आसाहीका अनुसार, शनिबार बिहान करिब ५ बजे एक व्यक्ति प्रहरी चौकी पुगेर ओसाकाको चुओ वार्ड, नम्बास्थित एक होटलमा ‘एक महिलाको हत्या भएको हुन सक्ने’ जानकारी दिएका थिए । ती व्यक्तिका अनुसार उनकी एक महिला साथीलाई कुनै एक पुरुषले “मैले कसैको ज्यान लिएँ” भनी सुनाएका थिए । सोही सूचनाका आधारमा ती व्यक्ति प्रहरीकहाँ पुगेका थिए ।
सूचना प्राप्त भएलगत्तै प्रहरी नम्बा क्षेत्रको उक्त होटलको छैटौँ तलामा रहेको एउटा कोठामा पुगेको थियो । त्यहाँ बेडमा एक युवती मृत अवस्थामा लडिरहेकी थिइन् । प्रहरीका अनुसार मृतक युवतीले पूर्ण रूपमा लुगा लगाएकी थिइन्, तर उनको घाँटीको छालाको रङ बदलिएको (निलो डाम जस्तो) देखिएको छ । घाँटीमा देखिएको उक्त दागका आधारमा उनलाई घाँटी थिचेर हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
मृतक युवती २० देखि ३० वर्ष उमेर समूहको रहेको विश्वास गरिएको छ । उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो ।
प्रहरीले अहिले सुरुमा सूचना दिने व्यक्तिको बयान लिइरहेको छ । उनकै माध्यमबाट ती महिला साथी र ‘हत्या गरेको’ दाबी गर्ने पुरुषलाई पत्ता लगाउने प्रयास भइरहेको छ । उक्त होटल ओसाका मेट्रो नम्बा स्टेशन नजिकैको व्यस्त ‘मिनामी’ जिल्लामा अवस्थित छ, जहाँ ठूला व्यापारिक भवन र रेस्टुरेन्टहरूको बाक्लो उपस्थिति रहेको छ ।








