टोकियो – जापानमा औसत घरायसी बचत अहिलेसम्मकै उच्च विन्दुमा पुगेको भए पनि जापानीहरू खर्च गर्ने मामिलामा भने झन् अनुदार बन्दै गएका छन् । हालै सार्वजनिक भएको एक सर्वेक्षण अनुसार, जापानको लामो सार्वजनिक बिदा ‘गोल्डेन विक’का लागि अधिकांश नागरिकहरूको योजना ‘शून्य येन’ खर्च गर्ने रहेको छ ।
बढ्दो महँगी र मध्यपूर्वमा जारी तनावका कारण कच्चा तेलको मूल्यमा हुन सक्ने वृद्धिको त्रासले जापानीहरू विलासिता र भ्रमणमा खर्च गर्नुभन्दा भविष्यका लागि बचत गर्नतिर आकर्षित भएका हुन् ।
मेइजी यासुदा लाइफ इन्स्योरेन्स कम्पनीले अप्रिल १६ मा सार्वजनिक गरेको सर्वेक्षण अनुसार, २९.३ प्रतिशत सहभागीले यस वर्षको ‘गोल्डेन विक’ मा एक पैसा पनि खर्च नगर्ने बताएका छन् । यो संख्या सर्वेक्षणमा सहभागीमध्येकै सबैभन्दा ठूलो हिस्सा हो ।
यसैगरी, १७.८ प्रतिशतले १० हजार देखि २० हजार येन र १२.८ प्रतिशतले ५० हजार देखि १ लाख येन मात्र खर्च गर्ने योजना बनाएका छन् । गत वर्षको तुलनामा २१.७ प्रतिशतले आफ्नो खर्च घटाउने बताएका छन् भने मात्र ४.३ प्रतिशतले मात्र खर्च बढाउने सोच राखेका छन्। झण्डै आधा जनसंख्या (४६.७%) यसपटक बिदामा कतै घुम्न जानुको सट्टा घरमै बस्ने तयारीमा छन् ।
जापानीहरूको गोजीमा पैसा नभएर खर्च नगरेका भने होइनन्। सर्वेक्षण अनुसार जापानीहरूको औसत घरायसी बचत गत वर्षको तुलनामा २८ लाख ४० हजार येनले बढेर १ करोड ८४ लाख ७० हजार येन पुगेको छ । सन् २०१७ देखि सुरु भएको यो सर्वेक्षणको इतिहासमा बचतको यो परिमाण अहिलेसम्मकै उच्च हो ।
मेइजी यासुदा रिसर्च इन्स्टिच्युटका मुख्य अनुसन्धानकर्ता ताकाफुमी फुजिताका अनुसार, जापानीहरूले आफ्नो जीविकोपार्जन सुरक्षित गर्न बढेको आम्दानीलाई उपभोगमा लगाउनुको सट्टा बचतमा जोड दिइरहेका छन् । ‘मानिसहरू बढेको आम्दानीलाई उपभोगमा खर्च गर्न हिचकिचाइरहेका छन्,’ उनले भने, ‘विश्वव्यापी अस्थिरता र इन्धनको मूल्यवृद्धिले निम्त्याउने महँगीका कारण उपभोग संस्कृतिमा संकुचन आएको छ ।’








