Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

टोकियो — जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले बुधबार इरानका राष्ट्रपति मसुद पेजेशकियनसँग टेलिफोन वार्ता गर्दै हर्मुज जलडमरू हुँदै विश्वका सबै देशका जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तत्काल कदम चाल्न आग्रह गरेकी छन् । 

यो वार्ता इरान र संयुक्त राज्य अमेरिकाबीच सर्तसहितको दुई साताको युद्धविराम सम्झौता घोषणा भएपछि भएको हो । करीब २५ मिनेट लामो उक्त वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै ताकाइचीले मध्यपूर्वमा बढ्दो तनावलाई चाँडो कम गर्नु आवश्यक रहेको सन्देश इरानी नेतृत्वलाई दिएको र दुवै पक्षबीच निरन्तर संवाद कायम राख्ने सहमति भएको जानकारी दिइन्।

“हर्मुज जलडमरू अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीका लागि अत्यन्त महत्वपूर्ण स्थान हो र यो सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको साझा सम्पत्ति हो,” ताकाइचीले भनिन् । उनले युद्धविरामलाई “सकारात्मक कदम” भन्दै स्वागत पनि गरिन् । जापानले कूटनीतिक पहलमार्फत चाँडै अन्तिम सम्झौता हुने अपेक्षा गरेको उनले बताइन् । दुवै नेताबीच यो पहिलो पटक भएको वार्ता हो ।

यो युद्धविराम सम्झौता मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानले घोषणा गरेको हो । उक्त घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हर्मुज जलडमरू पुनः खोल्न दिएको समयसीमा सकिनु ठीकअघि सार्वजनिक गरिएको थियो । सो समयसीमा नमानिएमा इरानको महत्वपूर्ण पूर्वाधार ध्वस्त पार्ने चेतावनी दिइएको थियो ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले आक्रमण रोकिने भए आफ्नो देशको सेना पनि “रक्षात्मक कारबाही रोक्न” तयार रहेको बताएका छन् । साथै इरानका सशस्त्र बलसँग समन्वय गरी प्राविधिक सीमाहरूको ध्यान राख्दै दुई सातासम्म हर्मुज हुँदै सुरक्षित आवागमन सम्भव हुने उनले बताएका छन् ।

फेब्रुअरी अन्त्यतिरदेखि संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले व्यवहारतः हर्मुज जलडमरू अवरुद्ध गर्दै आएको छ । यसले विश्व ऊर्जा आपूर्तिमा अवरोध सिर्जना गर्दै तेलको मूल्यमा वृद्धि गराएको छ ।

जापानले आफ्नो कच्चा तेल आयातको ९० प्रतिशतभन्दा बढी हिस्सा मध्यपूर्वबाट ल्याउँछ, जसको अधिकांश आपूर्ति यही जलडमरू हुँदै हुन्छ । अमेरिकाको निकट सुरक्षा साझेदार भए पनि जापानले इरानसँग परम्परागत रूपमा मैत्रीपूर्ण सम्बन्ध कायम राख्दै आएको छ ।

ताकाइची नेतृत्वको सरकारले इरानद्वारा गरिएको जलडमरू अवरोध र अन्य मध्यपूर्वी देशमाथि भएका आक्रमणको निन्दा गरेको छ । यद्यपि, इरानविरुद्ध अमेरिकाको र इजरायलको सैन्य कारबाहीबारे कानुनी मूल्यांकन भने गरिएको छैन ।

यसैबीच, ताकाइचीले इरानी राष्ट्रपतिसँगको वार्तामा केही महिनादेखि इरानमा हिरासतमा रहेका एक जापानी नागरिकको विषयमा पनि चाँडो समाधान खोज्न आग्रह गरेकी छन् । ती व्यक्ति सार्वजनिक प्रसारक एनएचकेको तेहरान ब्युरो प्रमुख भएको विश्वास गरिएको छ, जसलाई सोमबार जमानतमा रिहा गरिएको थियो ।

तपाईको प्रतिक्रिया