टोकियो – जापानको राजधानी टोकियोको व्यस्त पर्यटकीय क्षेत्र शिबुयाको एउटा बलियो पहिचान मानिने ‘सेइबु डिपार्टमेन्ट स्टोर’ ५८ वर्षको लामो यात्रापछि आगामी सेप्टेम्बरको अन्त्यमा स्थायी रूपमा बन्द हुने भएको छ । डिपार्टमेन्ट स्टोर सञ्चालक ‘सोगो एन्ड सेइबु कम्पनी’ले घरधनी र जग्गाधनीसँग भाडा सम्झौता नवीकरण हुन नसकेपछि यो ऐतिहासिक स्टोर बन्द गर्ने निर्णय गरेको हो ।
शिबुया क्षेत्रमा भइरहेको वृहत् पुनर्विकास र नजिकैका अन्य आधुनिक व्यापारिक भवनहरूसँगको तीव्र प्रतिस्पर्धाका कारण पछिल्ला वर्षहरूमा स्टोरको नाफामा उल्लेख्य गिरावट आएको थियो । सन् १९६८ मा स्थापना भएको यो डिपार्टमेन्ट स्टोर विश्वप्रसिद्ध ‘शिबुया स्क्र्याम्बल क्रसिङ’ नजिकै अवस्थित छ । दशकौँदेखि यो स्टोर फेसन र सपिङका लागि स्वदेशी तथा विदेशी पर्यटकहरूको मुख्य रोजाइमा पर्दै आएको थियो ।
यो स्टोर बन्द भएसँगै अब शिबुया क्षेत्रमा कुनै पनि ठूला परम्परागत डिपार्टमेन्ट स्टोरहरू बाँकी रहने छैनन् । यो सञ्चालक कम्पनीका लागि सन् २०२१ मा साइतामाको कावागुचीमा रहेको ‘सोगो’ स्टोर बन्द गरेपछिको पहिलो ठूलो बन्द हो । स्रोेतका अनुसार सेइबुका दुई मुख्य भवनहरू बन्द भए पनि सोही परिसरमा रहेका लोकप्रिय भेराइटी स्टोर चेन ‘लोफ्ट’ र प्रख्यात रिटेल ब्रान्ड ‘मुजी’ रहेका भवनहरू भने सञ्चालनमै रहनेछन् ।
जापानका पुराना र प्रतिष्ठित डिपार्टमेन्ट स्टोरहरू पछिल्लो समय अनलाइन सपिङ र नयाँ शैलीका सपिङ मलहरूको उदयका कारण संकटमा पर्दै गएका छन् । ५८ वर्षसम्म शिबुयाको सान बनेको सेइबु बन्द हुने खबरले धेरै जापानी नागरिक र पर्यटकहरूलाई भावुक बनाएको छ ।








