Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – मध्यपूर्वमा बढ्दो सैन्य तनाव र द्वन्द्वको बाछिटा खाडी मुलुकहरूमा कार्यरत नेपाली श्रमिकहरूमा पनि देखिन थालेको छ । इरान, इजरेल र अमेरिकाबीच चुलिएको टकरावका कारण विशेषगरी ऊर्जा, पर्यटन तथा आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा कार्यरत नेपालीहरूको रोजगारीमा प्रतिकूल प्रभाव पर्न थालेको हो ।

द्वन्द्वका कारण सिर्जित आर्थिक मन्दी र अनिश्चितताले गर्दा कतिपय कम्पनीहरूले नयाँ कामदारलाई कटौती गर्ने र पुरानालाई बेतलबी बिदामा राख्ने रणनीति अख्तियार गर्न थालेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) र कतारमा कार्यरत नेपालीहरूले पछिल्लो समय कामको चाप घटेको र भविष्यलाई लिएर चिन्ता थपिएको बताएका छन् ।

द्वन्द्वका कारण पर्यटन क्षेत्र सुस्ताउन थालेपछि होटल तथा रेस्टुराँहरूले कामदार कटौती सुरु गरेका छन् । यूएईको एक रेस्टुराँमा भर्खरै शेफका रूपमा नियुक्त भएका सप्तरीका पुष्पकुमार (नाम परिवर्तन) ले द्वन्द्वकै कारण आफ्नो रोजगारी गुमाउनुपरेको पीडा सुनाए । परीक्षणकाल (प्रोबेसन पिरियड) मा रहेका उनलाई कम्पनीले ‘अवस्था असामान्य भएको’ भन्दै घर फर्कन वा अर्को विकल्प खोज्न भनेको छ । उनीसँगै सोही कम्पनीका अन्य दुई नेपाली र करिब सय जना विदेशी श्रमिकले पनि रोजगारी गुमाएका छन् ।त्यस्तै, यूएईमै पर्यटन र आउटसोर्सिङ क्षेत्रमा आबद्ध रमेश श्रेष्ठका अनुसार अहिले नयाँ भिसा निकाल्न र मान्छे थप्न सक्ने अवस्था छैन । कतिपय कम्पनीले कामदारलाई घर जान वा बेतलबी बिदामा बस्न दबाब दिइरहेका छन् ।

कतारको ऊर्जा क्षेत्रमा कार्यरत नेपालीहरूमा पनि युद्धको प्रभाव महसुस हुन थालेको छ । दोहास्थित प्रोजेक्ट एन्ड सर्भिसेजमा आबद्ध रमेश भट्ट सौरभका अनुसार निर्माण र ऊर्जा क्षेत्रका कतिपय परियोजनाहरू सुस्त हुँदा कामदारहरूलाई ‘स्ट्यान्डबाइ’ राखिएको छ । उनको कम्पनीमा रहेका २५० कामदारमध्ये झन्डै ९० जना विगत तीन हप्तादेखि कामविहीन भएर बस्नुपरेको छ । यद्यपि, कम्पनीले अहिलेसम्म उनीहरूको गाँस र बासको व्यवस्था भने गरिरहेको छ ।

लामो समयदेखि कार्यरत पुराना श्रमिकहरूलाई कम्पनीहरूले पूर्ण रूपमा ननिकाले पनि आधा तलबमा काम गर्न वा काम नभएको समयमा बेतलबी बिदामा बस्न भन्न थालेका छन् । यूएईमा कार्यरत कुबेर लावर भन्छन्, ‘रिटेल र हस्पिटालिटी क्षेत्रमा काम मन्द छ । कम्पनीहरूले पुराना दक्ष कामदार नगुमोस् भनेर कम तलबमा भए पनि होल्ड गरिरहेका छन्, तर नयाँका लागि भने अवस्था चुनौतीपूर्ण छ ।’सरकार भन्छ- अवस्था निगरानीमा छ
नेपाल सरकारले भने अहिलेसम्म नेपालीहरूले ठूलो सङ्ख्यामा रोजगारी गुमाएको आधिकारिक जानकारी प्राप्त नभएको दाबी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार खाडीस्थित नेपाली नियोगहरूले स्थितिलाई नजिकबाट नियालिरहेका छन् । फाटफुट रूपमा रोजगारी गुमेका घटनाहरू सुनिए पनि औपचारिक रूपमा उजुरी नआएको अधिकारीहरूको भनाइ छ ।

यद्यपि, द्वन्द्व थप लम्बिएमा र खाडीका अन्य देशहरू प्रत्यक्ष मारमा परेमा ६ लाखभन्दा बढी नेपाली श्रमिक रहेको यूएई लगायतका देशबाट ठूलो सङ्ख्यामा नेपालीहरू घर फर्कनुपर्ने जोखिमलाई विज्ञहरूले औँल्याएका छन् । हाल इरानले यूएई, साउदी अरब र कतारमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गर्ने चेतावनी दिएपछि ती क्षेत्रमा सुरक्षा सतर्कतासँगै आर्थिक गतिविधिमा पनि त्रास फैलिएको छ ।

तपाईको प्रतिक्रिया