Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – दक्षिण अमेरिकी मुलुक कोलम्बियामा सेनाको विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ । मुलुकको दक्षिणी क्षेत्रमा पर्ने पुटुमायो प्रान्तमा सैनिक टोली बोकेको विमान उडान भर्ने वित्तिकै दुर्घटनामा परेको हो ।

कोलम्बियाली वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाका अनुसार दुर्घटनाग्रस्त ‘सी-१३० हरक्युलिस’ विमानमा ११४ सैनिक र ११ चालक दलका सदस्यसहित कुल १२५ जना सवार थिए । अमेरिकामा निर्मित यो शक्तिशाली विमान सैनिकहरू ओसारपसारका लागि प्रयोग हुँदै आएको थियो । लेगुइजामो सहर नजिकै भएको यो दुर्घटनालाई कोलम्बियाली वायु सेनाको पछिल्लो इतिहासकै सबैभन्दा घातक मध्येको एक मानिएको छ ।

रक्षा मन्त्री पेड्रो सान्चेजले विमान उड्नसाथ प्राविधिक समस्या आएको र भुँइमा बजारिएपछि लागेको आगोका कारण विमानमा रहेका हातहतियार एवं गोलीगठ्ठा विष्फोट भएको जानकारी दिएका छन् । ‘यो देशका लागि अत्यन्तै दुःखद र भयानक क्षण हो,’ उनले भनेका छन् । सैन्य स्रोतहरूका अनुसार मृत्यु हुने ६६ जनामा ५८ सैनिक , ६ वायु सेनाका कर्मचारी र २ प्रहरी अधिकारी रहेका छन् ।

दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी छ । स्थानीय सञ्चार माध्यमहरूले सार्वजनिक गरेका दृश्यहरूमा दुर्घटनास्थलबाट धुवाँको ठूलो मुस्लो निस्किएको र स्थानीय बासिन्दाहरूले घाइते सैनिकहरूलाई मोटरसाइकलमा राखेर अस्पताल पुऱ्याइरहेको देखिन्छ ।

राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत घटनाप्रति गहिरो शोक व्यक्त गर्दै सैन्य उपकरणहरूको आधुनिकीकरणमा देखिएको ‘प्रशासनिक ढिलासुस्ती’ प्रति कडा आक्रोश व्यक्त गरेका छन् । उनले भनेका छन् , ‘हाम्रा युवाहरूको ज्यान जोखिममा छ, अब सैन्य उपकरण र विमानको आधुनिकीकरणमा कुनै पनि बहानामा ढिलाइ सह्य हुने छैन ।’

यो घटना हुनुभन्दा केही समय अगाडि मात्र छिमेकी देश बोलिभियामा पनि यस्तै प्रकृतिको विमान दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएका थिए । कोलम्बियाली अधिकारीहरूले विमान दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन उच्चस्तरीय छानबिन सुरु गरिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया