काठमाडौं – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले टर्की र ओमानका विभिन्न क्षेत्रमा भएका हालैका हमलाहरूमा आफ्नो देशको कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेका छन् । फारसी नयाँ वर्ष ‘नवरोज’ को उपलक्ष्यमा एक विशेष लिखित सन्देश जारी गर्दै उनले क्षेत्रीय तनावमा इरानलाई जबर्जस्ती तान्न खोजिएको दाबी गरेका हुन् ।
सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरिएको नौ पृष्ठ लामो विस्तृत सन्देशमा खामेनीले इरानले आफ्ना पूर्वी छिमेकी राष्ट्रहरूलाई ‘अत्यन्त नजिकको र अभिन्न मित्र’ का रूपमा लिने उल्लेख गरेका छन् । छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई इरानले सधैं प्राथमिकतामा राखेको उनको भनाइ छ ।
सर्वोच्च नेता खामेनीले पाकिस्तानलाई आफ्ना पिता अली खामेनीको ‘विशेष रुचाइएको र प्रिय देश’ का रूपमा स्मरण गरेका छन् । दक्षिण एसियाली छिमेकीहरूबीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिँदै उनले पाकिस्तान र अफगानिस्तानबीच देखिँदै आएको मतभेद अन्त्य गर्न आह्वान समेत गरे । दुई देशबीचको सम्बन्ध सुधारका लागि इरानले आवश्यक र सकारात्मक कदम चाल्न वा मध्यस्थता गर्न तयार रहेको उनले उल्लेख गरेका छन् ।
इजरायल र अमेरिकासँगको बढ्दो टकरावका बीच छिमेकी मुलुकहरूमा भएका आक्रमणबारे चर्चा गर्दै खामेनीले भने, ‘टर्की र ओमानसँग हाम्रो सम्बन्ध निकै सुमधुर छ । ती देशका केही क्षेत्रमा भएका हमलामा इस्लामिक रिपब्लिकको सेना वा रेजिस्टेन्स फ्रन्टसँग आबद्ध कुनै पनि शक्ति जिम्मेवार छैनन् ।’
उनले यी हमलाहरू इरान र उसका छिमेकी राष्ट्रहरूबीच अविश्वास र फूट पैदा गर्न इजरायलले चालेको रणनीतिक ‘चाल’ भएको गम्भीर आरोप लगाएका छन् । क्षेत्रीय स्थिरता बिथोल्न बाह्य शक्तिहरू सक्रिय रहेको भन्दै उनले छिमेकीहरूलाई सचेत रहन आग्रह गरे ।
यो समाचार यस्तो समयमा आएको छ, जतिबेला अमेरिकाले मोजतबा खामेनीसहित इरानका शीर्ष १० नेताहरूको सुराकी दिने व्यक्तिलाई १ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकाको उक्त कदमपछि इरान र पश्चिमा मुलुकहरूबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।








