काठमाडौं – मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच अमेरिकाको अत्याधुनिक ‘एफ-३५’ लडाकु विमान एक हवाई अखडामा आपतकालीन अवतरण गरिएको छ । बिहीबार भएको यस घटनामा विमान सुरक्षित रूपमा अवतरण भएको र पाइलटको अवस्था स्थिर रहेको अमेरिकी सैन्य स्रोतले पुष्टि गरेको छ ।
अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) का प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार इरानसँगको सैन्य मुठभेड वा लडाइँ अभियानलगत्तै उक्त लडाकु विमानलाई क्षेत्रीय आधार शिविरमा अवतरण गराइएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले उल्लेख गरेअनुसार सेन्टकमले पाइलट सकुशल रहेको र घटनाबारे थप अध्ययन भइरहेको जनाएको छ ।
यसैबीच, अमेरिकी समाचार संस्था सीएनएनले करिब १०० मिलियन डलर (करिब १३ अर्ब रुपैयाँ) भन्दा बढी मूल्य पर्ने उक्त शक्तिशाली विमानमाथि इरानले प्रहार गरेको हुनसक्ने आशंका व्यक्त गरेको छ । इरानको प्रभावशाली सैन्य दस्ता ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स’ (आईआरजीसी) ले समेत अमेरिकी विमानलाई निशाना बनाएको दाबी गरेको छ ।
पछिल्लो समय मध्यपूर्वमा इरान र अमेरिकाबीचको टकरावले उग्र रूप लिँदै गएको देखिन्छ । प्राप्त विवरणअनुसार गत फेब्रुअरी २८ मा युद्ध सुरु भएयता अमेरिकाले आफ्ना झण्डै १२ वटा ‘एमक्यु-९ रिपर’ ड्रोनहरू गुमाइसकेको छ । यसका साथै, साउदी अरेबियामा रहेको एक अमेरिकी सैन्य अड्डामा इरानी क्षेप्यास्त्र प्रहार हुँदा पाँचवटा ‘केसी-१३५’ रिफ्युलिङ विमानहरूमा क्षति पुगेको रिपोर्टहरू पनि सार्वजनिक भएका छन् । यद्यपि, ती रिपोर्टहरूको स्वतन्त्र पुष्टि हुन भने बाँकी नै छ ।
अमेरिकी रक्षा मन्त्रालयले यस घटनालाई गम्भीरतापूर्वक लिँदै एफ-३५ को आपतकालीन अवतरणको प्राविधिक वा रणनीतिक कारणबारे सूक्ष्म अनुसन्धान थालेको बताइएको छ ।








