बेइजिङ – चीनको एक विश्वविद्यालयले आफ्ना विद्यार्थीहरूलाई वसन्त ऋतुको बिदामा ‘प्रकृतिसँग रमाउन र प्रेममा पर्न’ अनौठो निर्देशन दिएको छ । पढाइ र ग्रेडमा मात्रै ध्यान दिने चिनियाँ शैक्षिक समाजमा सिचुआन दक्षिणपश्चिम भोकेसनल कलेज अफ एभिएसनको यो कदमलाई निकै चासोका साथ हेरिएको छ ।
कलेजले अप्रिल १ देखि ६ सम्मका लागि ‘फूल हेर्नुहोस् र रोमान्सको आनन्द लिनुहोस्’ भन्ने नाराका साथ विशेष बिदा घोषणा गरेको हो । कलेजले जारी गरेको सूचनामा विद्यार्थी र शिक्षक दुवैलाई केही समयका लागि पुस्तकहरू थाँती राखेर बाहिरी संसारको आनन्द लिन र प्रेम सम्बन्ध गाँस्न प्रोत्साहन गरिएको छ ।
चीनमा पछिल्लो समय घट्दो जन्मदर र विवाहको संख्यामा आएको गिरावटलाई मध्यनजर गर्दै सरकारले यस्ता नीतिहरूलाई बढावा दिन थालेको हो । सन् २०२५ मा चीनको जनसंख्या लगातार चौथो वर्ष पनि घटेपछि अधिकारीहरू चिन्तित बनेका छन् । जनसांख्यिक संकट टार्न र घरेलु पर्यटनमार्फत आर्थिक गतिविधि चलायमान बनाउन चीनले अब गर्मी र जाडोबाहेक वसन्त र शरद ऋतुमा पनि शैक्षिक बिदा दिने तयारी गरेको छ ।
चिनियाँ योजना आयोग (एनडिआरसी) ले पनि ‘बाल-मैत्री सहर’ विकास गर्ने र सार्वजनिक सेवामा सुधार ल्याउने निर्देशिका जारी गरेको छ । विज्ञहरूका अनुसार युवा पुस्तालाई सन्तान उत्पादन र परिवारको महत्त्व बुझाउन र उनीहरूको जीवनशैलीमा सुधार ल्याउन यस्ता बिदा र प्रोत्साहनका कार्यक्रमहरू आवश्यक छन् ।
सिचुआन र जियाङसु जस्ता प्रान्तहरूले पनि पर्यटन र उपभोग बढाउन अप्रिल र मे महिनामा यसैगरी वसन्त बिदा दिने योजना सार्वजनिक गरेका छन् ।








