समाचार सुन्नुहोस :
काठमाडौँ – लोकप्रिय हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’ को तेस्रो सिजन चैत २० (३ अप्रिल) देखि प्रसारण हुने भएको छ। पहिलो दुई सिजन सफलतापूर्वक सम्पन्न भएपछि करिब तीन महिनाको विश्रामपछि कार्यक्रम नयाँ ढाँचासहित पुनः दर्शकमाझ आउन लागेको हो। तेस्रो सिजनमा कार्यक्रमको सेट डिजाइन परिवर्तन गरिनेछ भने प्रस्तुति शैलीमा पनि केही सुधार गरिने निर्माण पक्षले जनाएको छ। नयाँ कमेडियनहरू थपिनेछन् र केही नयाँ कलाकार पनि देखिनेछन्। निर्देशक तथा होस्ट विक्की अग्रवाल का अनुसार यसपटक कार्यक्रमलाई अझ आकर्षक र मनोरञ्जनात्मक बनाउने तयारी गरिएको छ।
जजको भूमिकामा ‘महाराजा’ र ‘महारानी’का रूपमा मनोज गजुरेल र गौरी मल्ल यथावत रहनेछन्। साथै, फिल्म क्षेत्रका एक अभिनेतासहित थप एक नयाँ जज पनि सहभागी हुनेछन्। कलाकार टोलीमा पनि केही परिवर्तन हुने भएको छ। अघिल्ला सिजनका अधिकांश कलाकार निरन्तर रहने भए पनि दुई जना कलाकार यसपटक देखिने छैनन्। उनीहरूको स्थानमा दुई नयाँ कमेडियन समावेश गरिने निर्देशक अग्रवालले जानकारी दिए। उनका अनुसार सबैसँग सहमति भइसकेको छ र छिट्टै औपचारिक घोषणा गरिनेछ।
यस सिजनमा हिमेश पन्त र उत्सव सापकोटा भने सहभागी नहुने बुझिएको छ। छोटो समयमै दर्शकमाझ लोकप्रिय बनेको यो कार्यक्रमको टिमले हाल कथानक फिल्म ‘ककाकिकी’ पनि निर्माण गरिरहेको छ, जसको निर्देशन विक्की अग्रवाल र श्रद्धा प्रसाईंले गरिरहेका छन्।








