टोकियो – जापान एयरलाइन्सले आफ्ना करिब १४ हजार कर्मचारीका लागि कार्यस्थलमा स्नीकर्स जुत्ता लगाउन अनुमति दिएको छ । लामो समयदेखि अनिवार्य गरिएको ‘पम्प’ र ‘हिल’ जुत्ताका कारण खुट्टा दुख्ने, सुन्निने र ढाडको समस्या भोगिरहेका कर्मचारीहरूका लागि यो निर्णय ठूलो राहत बनेको छ ।
ओसाका इतामी विमानस्थलमा कार्यरत ३१ वर्षीया ओइ तादासु भन्छिन्, ‘म अब फेरि ती पुराना पम्प जुत्तामा फर्कनै सक्दिनँ ।’ ग्राउण्ड स्टाफका रूपमा कार्यरत तादासु यात्रुहरूको सहायताका लागि दैनिक १२ हजार पाइलासम्म हिँड्नुपर्छ । स्नीकर्सको प्रयोगसँगै आफ्नो खुट्टा र ढाडको दुखाइ निकै कम भएको उनी बताउँछिन् ।
सन् १९५३ देखि लागू भएको कडा ड्रेस कोडअनुसार महिला उडान परिचारिकाले ६.८ सेन्टिमिटरसम्मको हिल अनिवार्य लगाउनुपर्ने नियम थियो । तर, सन् २०२० मा हिलको उचाइको सीमा हटाएको कम्पनीले २०२५ नोभेम्बरदेखि पूर्ण रूपमा स्नीकर्सको विकल्प पनि खुला गरेको हो ।
जापानमा कार्यस्थलमा महिलाहरूलाई जबर्जस्ती अग्लो हिल लगाउन लगाइने नियमविरुद्ध चलेको ‘#KuToo’ अभियान र ‘जिप एयर’ जस्ता नयाँ विमानसेवाहरूले स्नीकर्सलाई नै प्राथमिकता दिन थालेपछि जापान एयरलाइन्सले पनि यो परिवर्तन ल्याएको हो ।
यद्यपि, कर्मचारीहरूले भड्किलो वा रङ्गीचङ्गी जुत्ता लगाउन भने पाउने छैनन् । युनिफर्मसँग मिल्ने र व्यावसायिक देखिने ‘सादा कालो’ स्नीकर्स मात्र लगाउन अनुमति दिइएको छ ।
कम्पनीका अनुसार, यो पहल कर्मचारीको स्वास्थ्य, कार्यक्षमता र विविधताको सम्मानका लागि गरिएको हो । कर्मचारीहरू शारीरिक रूपमा सहज र स्फूर्त भएमा मात्र ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न सकिने विश्वास कम्पनीले व्यक्त गरेको छ ।








