टोकियो – जापान सरकारले अख्तियार गरेको पछिल्लो रक्षा नीति र सैन्यीकरणको प्रयासविरुद्ध राजधानी टोकियोमा जनप्रदर्शन भएको छ । प्रधानमन्त्री सानाय ताकाइचीको सरकारले मिसाइल तैनाथी गर्ने र घातक हतियार निर्यातलाई सहज बनाउने निर्णय गरेपछि त्यसको विरोधमा १० हजारभन्दा बढी नागरिक सडकमा उत्रिएका हुन् ।
जापानको संसद भवन (नेशनल डायट) बाहिर भेला भएका प्रदर्शनकारीहरूले सरकारको सैन्य रणनीतिले देशको शान्तिवादी पहिचानमाथि प्रहार गरेको आरोप लगाएका छन् । चिसो मौसमको प्रवाह नगरी उपस्थित भएका प्रदर्शनकारीहरूले ‘युद्ध चाहिँदैन’ र ‘संविधान कुल्चिने प्रयास बन्द गर’ जस्ता चर्का नाराबाजी गरेका थिए । प्रदर्शनका क्रममा नागरिकहरूले जापानको संविधानको धारा ९ (जसले युद्धलाई निषेध गरेको छ) सामूहिक रूपमा वाचन गर्दै देशको शान्तिवादी सिद्धान्तप्रति आफ्नो अडान पुनः दोहोर्याएका छन् ।
विगतका प्रदर्शनहरूको तुलनामा यस पटकको र्यालीमा युवा पुस्ताको सहभागिता उल्लेख्य देखिएको छ । युवाहरूको ठूलो संख्याले जापानी राजनीतिमा सुरक्षा र सैन्य रणनीतिका विषयमा बढ्दो चासो र चिन्तालाई स्पष्ट पारेको छ । प्रदर्शनमा सहभागी अया यासुईले भर्खरै कुमामोतो प्रिफेक्चरमा लामो दूरीको मिसाइल लन्चरहरू तैनाथ गर्ने सरकारको कदमप्रति गहिरो चिन्ता व्यक्त गरिन् । उनले सरकारको यस्तो गतिविधिले क्षेत्रीय तनाव बढाउने र जापानलाई पुनः युद्धको जोखिममा धकेल्न सक्ने आशंका गरिन् ।
ताकाइची सरकारले रक्षा बजेटमा वृद्धि गर्ने र हतियार निर्यातका नियमहरूलाई खुकुलो बनाउने नीति अघि सारेपछि जापानभित्र र बाहिर यसको विभिन्न कोणबाट बहस र आलोचना भइरहेको छ । विरोध प्रदर्शनलाई प्रधानमन्त्री ताकाइचीका लागि ठूलो राजनीतिक चुनौतीको रूपमा हेरिएको छ ।








