समाचार सुन्नुहोस :
काठमाडौँ – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालमा १२ खर्ब ६१ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा विप्रेषण आप्रवाह अघिल्लो वर्षको तुलनामा ३९.८ प्रतिशतले बढेर १२६१ अर्ब १ करोड रुपैयाँ पुगेको हो।
गत आर्थिक वर्षको यही अवधिमा भने रेमिट्यान्स आप्रवाह ७.५ प्रतिशतले मात्र वृद्धि भएको थियो। राष्ट्र बैंकका अनुसार २०८२ सालको माघ महिनामा मात्रै १९८ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा भने १३७ अर्ब ५० करोड रुपैयाँ मात्र आएको थियो। अमेरिकी डलरमा हेर्दा पनि विप्रेषण उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशतले बढेर ८ अर्ब ८६ करोड पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो वृद्धि ५.५ प्रतिशत मात्र थियो।
त्यस्तै, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३८४ अर्ब २७ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९८६ अर्ब ३४ करोड रुपैयाँ थियो। वैदेशिक रोजगारीतर्फ पनि उल्लेख्य संख्या देखिएको छ। सात महिनामा नयाँ श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या २ लाख ४५ हजार १५३ पुगेको छ। पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख २७ हजार ४२४ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा नयाँ श्रम स्वीकृति लिने २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिने १ लाख ९० हजार ८८६ जना थिए।








