टोकियो – जापानको ओसाकास्थित एक ढल निर्माणस्थलमा बुधबार एउटा विशाल पाइप अप्रत्याशित रूपमा जमिनको सतहभन्दा १० मिटरभन्दा बढी बाहिर निस्किएपछि यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
ओसाका प्रान्तीय प्रहरीका अनुसार बिहान करिब ६:५० बजे एक पैदलयात्रीले ‘निर्माणस्थलमा कङ्क्रिटका टुक्राहरू खसिरहेको’ भन्दै आपत्कालीन सेवामा फोन गरेका थिए । त्यसको केही मिनेटमै घटनास्थल पुगेको प्रहरी टोलीले करिब ५ मिटर व्यास भएको एउटा विशाल पाइप जमिनमुनिबाट बाहिर निस्किएको फेला पारेको थियो ।
यो घटना ओसाकाको प्रसिद्ध मनोरञ्जन स्थल तथा हान्क्यु रेलवेको ओसाका-उमेदा स्टेसन नजिकै पर्ने ‘किता वार्ड’ मा घटेको हो । व्यस्त ‘सिन-मिदोसुजी’ सडकको एउटा उकालो खण्डमुनिबाट पाइप बाहिर निस्किएपछि सुरक्षाका कारण उक्त क्षेत्रमा सवारी आवागमनमा प्रतिबन्ध लगाइएको छ । मुख्य सडकमा लगाइएको ट्राफिक प्रतिबन्धका कारण ओसाकाका अन्य भागमा पनि सवारी जामको समस्या देखिएको छ ।
पाइप बाहिर निस्कँदा सडकको कालोपत्रे उप्किएर टुक्राहरू जताततै छरिएका छन् । सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले पैदलयात्रीहरूलाई सो स्थानमा नरोकिन र छिटो अगाडि बढ्न निर्देशन दिइरहेको छ । निर्माणस्थल नजिकै काम गर्ने ६० वर्षीय एक स्थानीयले चिन्ता व्यक्त गर्दै भने, ‘सिन-मिदोसुजी यो क्षेत्रको यातायातको मुख्य धमनी हो । यसरी पाइप बाहिर निस्किएपछि सवारी साधनहरू लामो समयसम्म रोकिनुपर्ने देखिन्छ, जसले सहरको यातायात सञ्जालमा ठूलो असर पार्ने निश्चित छ ।’
यो पाइप के कारणले गर्दा अचानक जमिनबाट माथि आयो भन्नेबारे अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् । निर्माण कार्यमा संलग्न इन्जिनियरहरू र स्थानीय प्रशासनले पाइपलाई यथास्थानमा फर्काउने र सडक खुलाउने प्रयास गरिरहेका छन् ।








