समाचार सुन्नुहोस :
काठमाडौँ – गण्डकी प्रदेशका पूर्व प्रदेशसभा सदस्य तथा ‘दीपक मनाङे’ नामले चिनिने राजीव गुरुङ कैद सजाय पूरा गरेर जेलमुक्त भएका छन्। ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा दोषी ठहर भएपछि डिल्लीबजार कारागारमा रहेका उनी बुधबार सजाय अवधि सकिएपछि रिहा भएका हुन्।
वि.सं. २०६१ वैशाख ३१ गते काठमाडौंको महाराजगञ्जस्थित एक रेस्टुरेन्टमा ‘चक्रे मिलन’ भनिने मिलन गुरुङमाथि खुकुरी प्रहार गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको थियो। उक्त घटनामा गुरुङको बायाँ हात गम्भीर रूपमा घाइते भएको थियो। यस घटनामा उच्च अदालत पाटनले मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो।
यसअघि उनले विभिन्न समयमा गरी दुई वर्ष आठ महिना कैद भुक्तान गरिसकेका थिए। सर्वोच्च अदालतले २०८१ कात्तिक २० गते उच्च अदालतको फैसला सदर गरेपछि उनलाई पक्राउ गरी बाँकी सजाय कार्यान्वयन गरिएको थियो। बाँकी एक वर्ष चार महिना कैद पूरा गरेपछि र केही कैद छुट सुविधा पाउँदा उनी अहिले जेलमुक्त भएका हुन्।








