Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी’ भन्ने मूल नाराका साथ एनपीओ गल्कोट समाज जापानले बागलुङको गल्कोट नगरपालिका र ताराखोला गाउँपालिकाका सामुदायिक माध्यमिक विद्यालयहरूमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ ।समाजले दुवै स्थानीय तहका १९ वटा विद्यालयमा ५/५ लाख रुपैयाँका दरले कुल ९५ लाख रुपैयाँ बराबरको अक्षयकोष हस्तान्तरण तथा स्थापना कार्य सम्पन्न गरेको हो । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजित ‘साङ्गीतिक धमाका २०२५-०२६’ बाट सङ्कलित रकमको उद्देश्य अनुरूप यी विद्यालयहरूमा अक्षयकोष स्थापना गरिएको समाजले जनाएको छ ।अक्षयकोष स्थापनाको पहिलो चरण अन्तर्गत गत वर्ष गल्कोट नगरपालिकाका १० र ताराखोला गाउँपालिकाको १ गरी ११ विद्यालयमा कोष स्थापना गरिएको थियो । जसमा गल्कोट नगरपालिका वडा नं. १ को सरस्वती मावि, वडा नं. २ को महेन्द्र मावि, वडा नं. ४ को खरुवा मावि, वडा नं. ५ को पृथ्वी मावि, वडा नं. ६ को पार्वती मावि, वडा नं. ७ को जनहित मावि, वडा नं. ८ को जनजागृति मावि, वडा नं. ९ को भैरव मावि, वडा नं. १० को पाण्डवखानी मावि र वडा नं. ११ को रत्न लक्ष्मी मावि रहेका छन् । त्यस्तै, ताराखोला गाउँपालिकाको नेपाल माविमा पनि सोही समयमा कोष स्थापना गरिएको थियो ।दोस्रो चरण अन्तर्गत यस वर्ष बाँकी रहेका विद्यालयहरूमा कोष स्थापना कार्य सम्पन्न गरिएको छ । जसमा गल्कोट नगरपालिका वडा नं. १ को चौराहा मावि, वडा नं. ३ को गल्कोट मावि र वडा नं. ८ को शिव मावि रहेका छन् । त्यस्तै, ताराखोला गाउँपालिका वडा नं. १ को प्रजातन्त्र मावि र जनप्रेम मावि, वडा नं. २ को अर्गल मावि, वडा नं. ३ को हरि मावि र वडा नं. ५ को दुर्गा भवानी माविमा अक्षयकोष स्थापना गरिएको छ ।यो अक्षयकोषले भविष्यमा गल्कोट र ताराखोला क्षेत्रका आर्थिक रूपमा विपन्न तर प्रतिभाशाली विद्यार्थीहरूको शैक्षिक वृत्तिविकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गल्कोट समाज जापानले लिएको छ । यस परोपकारी कार्यका लागि आर्थिक सहयोग गर्ने दाताहरू, व्यवस्थापनमा सहजीकरण गर्ने गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका, विद्यालय परिवार, स्थानीय सङ्घ-संस्था, समाजसेवी तथा सञ्चारकर्मीहरूप्रति समाजले कृतज्ञता प्रकट गरेको छ ।अक्षयकोष हस्तान्तरण कार्यक्रममा गल्कोट समाज जापानका अध्यक्ष रत्नसिंह बस्नेत र महासचिव दिलीप कँडेलको उपस्थिति रहेको थियो । सो अवसरमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।आर्थिक अभावका कारण कोही पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको अध्यक्ष बस्नेतले बताएका छन् । अभियानलाई सफल बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति उनले आभार व्यक्त गरे । साङ्गीतिक कार्यक्रममार्फत सङ्कलित रकमलाई सही सदुपयोग गर्दै शिक्षा क्षेत्रमा लगानी गर्न पाउनु गौरवको विषय भएको महासचिव कँडेलको भनाई छ ।  

तपाईको प्रतिक्रिया