काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी अमेरिकी सेनाको अभियान चाँडै समाप्त हुन सक्ने बताएका छन् । तर यो अभियान यही हप्ताभित्रै भने नटुङ्गिने उनले स्पष्ट पारेका छन् ।
इरानको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै उनले इरानसँग भएको शक्ति र सामर्थ्य लगभग समाप्त भइसकेको र नेतृत्व समेत निकै कमजोर बनेको दाबी गरे । उनले भने, ‘इरानसँग जे-जे थियो, ती लगभग सबै समाप्त भइसकेका छन्, यहाँसम्म कि उनीहरूको नेतृत्व पनि रक्षात्मक अवस्थामा पुगेको छ ।’
गत फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमा संयुक्त सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा तनाव चर्किएको छ । यसै विषयमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि फोनमा कुराकानी गरेको बताएका छन् । ट्रम्पका अनुसार पुटिनले मध्यपूर्वको तनाव कम गर्न सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् ।
सोही वार्ताका क्रममा उनले पुटिनलाई युक्रेन युद्ध अन्त्यका लागि आग्रह गरेको समेत जानकारी दिए । उनले भने, ‘मैले पुटिनलाई भनेँ- यदि तपाईं युक्रेनको युद्ध अन्त्य गराउन मद्दत गर्न सक्नुहुन्छ भने, त्यो विश्वका लागि अझ बढी उपयोगी हुनेछ ।’
युक्रेन सङ्कटबारे बोल्दै ट्रम्पले पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको व्यक्तिगत शत्रुताका कारण तत्कालै कुनै सहमति हुने छाँटकाँट नदेखिएको बताए । उनले थपे, ‘युक्रेनको युद्ध यस्तो संघर्ष हो, जसको अन्त्य नजिकै देखिँदैन । उनीहरूबीच गहिरो दुश्मनी छ र कुनै सहमतिमा पुग्न सकेका छैनन् ।’
अमेरिकी र इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएपछि अहिले उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गरिएको छ । रुसी राष्ट्रपति पुटिनले सोमबार मोज्तबालाई बधाई दिँदै इरानलाई आफ्नो ‘भरपर्दो साझेदार’ बताएका थिए । उनले इरानप्रति रुसको अटल समर्थन र ऐक्यबद्धता रहने प्रतिबद्धता समेत जनाएका छन् ।
तर ट्रम्पले भने इरानको नयाँ नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । मोज्तबा खामेनीलाई धेरै मानिसले राम्रोसँग नचिनेको भन्दै उनले इरानको नयाँ नेताप्रति आफू खुसी नभएको बताएका छन् ।








