काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पछिल्लो निर्वाचनमा प्राप्त सफलताका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई टेलिफोन गरी बधाई दिएका छन् ।
संवादका क्रममा मोदीले रास्वपाको चुनावी नतिजालाई एउटा महत्वपूर्ण उपलब्धिका रूपमा अर्थ्याएका छन् । उनले लामिछाने र शाहलाई आगामी सरकार गठन प्रक्रियाका लागि शुभकामना दिँदै नयाँ नेतृत्वसँग सहकार्य गर्न भारत सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
नेपालको समृद्धि, प्रगति र दुवै देशका जनताको हितका लागि नयाँ नेतृत्वसँग मिलेर काम गर्ने इच्छा उनले व्यक्त गरेका छन् । यस्तै, प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई आगामी दिनमा थप मजबुत बनाउँदै लैजाने कुरामा जोड दिए । नेपालमा विकसित नयाँ राजनीतिक परिवेश र नेतृत्वसँग नजिक रहेर काम गर्न भारत सधैं तत्पर रहेको उनको भनाई थियो ।








