टोकियो – जापानको स्थल आत्मरक्षा बलले सोमबार बिहान दक्षिण-पश्चिमी टापु क्युशुको कुमामोटोस्थित सैन्य अड्डामा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गर्ने उपकरण (लाउन्चर) र अन्य सैन्य सामग्री पुर्याएको छ । यसै महिनाभित्र सम्पन्न हुने लक्ष्य राखिएको यो तैनाथीलाई जापानको रक्षा नीतिमा आएको एउटा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ ।
जापानले आफ्नो युद्ध-परित्याग गर्ने संवैधानिक नीति र ‘विशेष रूपमा रक्षात्मक मात्र हुने’ पुरानो अवधारणामा परिवर्तन गर्दै शत्रुको निशानामा सिधै प्रहार गर्न सक्ने ‘काउन्टरस्ट्राइक’ क्षमता विकास गर्ने रणनीति लिएको छ । कुमामोटोमा गरिएको यो तैनाथी सोही रणनीतिको पहिलो खुड्किलो हो ।
तुलनात्मकरूपमा परिष्कृत गरिएको ‘टाइप-१२’ जमिनबाट जहाजमा प्रहार गर्ने यो निर्देशित क्षेप्यास्त्रले करिब १,००० किलोमिटरको दूरीसम्म मार हान्न सक्छ। यो क्षेप्यास्त्रले क्युशु टापुबाट महाद्वीपीय तटीय क्षेत्रका विभिन्न भागहरूलाई आफ्नो निशानामा पार्ने क्षमता राख्छ ।
जापान सरकारको नीतिअनुसार, आफूमाथि क्षति हुनुअघि नै शत्रुले आक्रमण सुरु गरेको निष्कर्ष निकालेमा जापानले यस्ता क्षेप्यास्त्रहरू प्रहार गर्न सक्नेछ । यद्यपि, यसले गलत निर्णयको आधारमा ‘प्रि-एम्प्टिभ स्ट्राइक’ (आक्रमण हुनुपूर्वको प्रहार) को जोखिम निम्त्याउन सक्ने भन्दै विशेषज्ञहरूले चिन्ता व्यक्त गरेका छन्, जुन अन्तर्राष्ट्रिय कानुनविपरित मानिन्छ ।
यसैबीच, कुमामोटोका स्थानीय बासिन्दाहरूले यस तैनाथीको कडा विरोध र प्रदर्शन गरेका छन् । रक्षा मन्त्रालयले पर्याप्त जानकारी र स्पष्टीकरण नदिएको उनीहरूको आरोप छ। स्थानीय बासिन्दाहरूले यस्तो घातक हतियार तैनाथ गर्दा आफ्नो क्षेत्र युद्धको प्रमुख निशाना (टार्गेट) बन्न सक्ने भन्दै सुरक्षाको प्रश्न उठाएका छन् ।








