Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानमा रहेका गोरखालीहरूको साझा संस्था ‘गोरखा समाज जापान’को अध्यक्षमा अर्जुन ढकाल निर्विरोध निर्वाचित भएका छन् । टोकियोस्थित मुसासिनो प्यालेसमा आइतबार सम्पन्न समाजको तेस्रो अधिवेशनले ढकालको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।नयाँ कार्यसमितिको उपाध्यक्षहरूमा सोमबहादुर ढकाल क्षेत्री, रमेश गिरी, खेम गुरुङ र ऋषिराम ढकाल चयन भएका छन् । संस्थाको प्रशासनिक जिम्मेवारी सम्हाल्ने गरी महासचिवमा सुनिल देवकोटा चुनिएका छन् भने सचिवमा सुजन पन्त र सोमान गुरुङ चयन भएका छन् । त्यसैगरी, आर्थिक विभागको जिम्मेवारीमा कोषाध्यक्ष सिमा गुरुङ र सह-कोषाध्यक्षमा पूजा गुरुङ रहेका छन् । समितिको सदस्यहरूमा कृष्ण प्रसाद पोखरेल, पवन पन्त, सबिन मरहट्टा, रेजिना गुरुङ, विनोद सापकोटा र योगेश गायकलाई चयन गरिएको छ ।अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा बोल्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुभास लामिछानेले प्रवासमा रहेका नेपालीहरूलाई गोलबन्द गर्न र आफ्नो जिल्लाको पहिचान जोगाउन गोरखा समाजले खेलेको भूमिकाको प्रशंसा गरे । विशेष अतिथिको रूपमा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष रवीन्द्र श्रेष्ठ ‘गोर्खाली’, एनआरएनए जापानका उपाध्यक्ष मुक्तिराम खनाल, जनप्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेल, र धादिङ समाज जापानका अध्यक्ष बिमल श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।निर्वाचन समितिका संयोजक भूपालमान श्रेष्ठ र गुरुङ समाज जापानका अध्यक्ष युवराज गुरुङले नयाँ नेतृत्वले समाजलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । कार्यक्रममा जापानी नागरिक हारुहितो नोजुको पनि विशेष उपस्थिति रहेको थियो ।विभिन्न संघ-संस्थाका प्रतिनिधि, समाजसेवी तथा ठूलो संख्यामा गोरखाली समुदायको सहभागिता रहेको उक्त कार्यक्रमले जापानमा नेपाली एकताको सन्देश दिएको सहभागीहरूले बताएका छन् । नवनिर्वाचित अध्यक्ष अर्जुन ढकालले सबैलाई समेटेर गोरखालीहरूको हित र समाजसेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया