टोकियो – नेपाली राजदूतावास टोकियोले जापानमा रहेका नेपालीहरूलाई हुण्डी जस्ता अवैध र शंकास्पद वित्तीय कारोबारमा संलग्न नहुन पुनः कडा आग्रह गरेको छ । दूतावासले एक विशेष सूचना जारी गर्दै जापानबाट वैधानिक माध्यम (बैंकिङ प्रणाली) मार्फत नेपालमा रेमिट्यान्स पठाउने क्रममा उत्साहजनक वृद्धि भएको जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कलाई उद्धृत गर्दै दूतावासले जनाएअनुसार, पछिल्लो तीन महिनामा जापानबाट औपचारिक माध्यममार्फत नेपाल जाने रेमिट्यान्समा निरन्तर वृद्धि भएको छ । यससँगै औपचारिक प्रणालीबाट नेपालमा सबैभन्दा बढी रेमिट्यान्स पठाउने मुलुकहरूको सूचीमा जापान अहिले दशौँ स्थानमा उक्लिएको छ ।
यसअघि सन् २०२१ नोभेम्बर २६ मा दूतावासले सूचना जारी गरी अनौपचारिक माध्यमबाट रकम संकलन गर्ने र नेपाल नपठाउने गिरोहबारे सूचना माग गरेको थियो । सोही पहलकदमीका कारण वैधानिक बाटोबाट पैसा पठाउने संस्कारमा सुधार आएको दूतावासको निष्कर्ष छ ।
नेपाल राष्ट्र बैंक र सम्बन्धित अनुसन्धानकारी निकायहरूले हुण्डी तथा शंकास्पद कारोबारमाथि सुक्ष्म निगरानी र अनुसन्धान गरिरहेको दूतावासले जनाएको छ। सूचनामा भनिएको छ, ‘जापानबाट यस्ता गैरकानूनी क्रियाकलापमा संलग्न नहुन र शंकास्पद कारोबार भएको जानकारी भएमा प्रमाणसहित राजदूतावास वा नेपालका सम्बन्धित निकायमा पठाएर सहयोग गरिदिनुहुन पुनः अनुरोध गरिन्छ ।’
हुण्डी वा अवैध कारोबार गर्नेहरूको सूचना दिने व्यक्तिको विवरण र पहिचान अत्यन्त गोप्य राखिने आश्वासन समेत दूतावासले दिएको छ । हुण्डी कारोबारले राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पार्ने र व्यक्तिगत रूपमा पनि कानुनी जोखिम निम्त्याउने भएकाले सचेत रहन आग्रह गरिएको छ ।








