टोकियो – जापानमा न्यून आय भएका करिब ४० प्रतिशत परिवारले आफ्ना बालबालिकाको विद्यालय भर्ना र शैक्षिक सामग्रीको खर्च जुटाउन ऋण लिने गरेको एक हालैको सर्वेक्षणले देखाएको छ । बाल गरिबी निवारणका लागि कार्यरत ‘उसनोवा फाउन्डेसन’ ले गरेको अध्ययनले जापान जस्तो विकसित देशमा पनि शिक्षाका लागि अभिभावकहरूले ठूलो आर्थिक सङ्कट झेलिरहेको तथ्य उजागर गरेको हो ।
सन् २०२५ को सुरुमा गरिएको यस अनलाइन सर्वेक्षणमा न्यून आय भएका (करदाता सूचीमा नपर्ने) र कल्याणकारी भत्ता लिइरहेका ८१३ परिवार सहभागी थिए । सर्वेक्षणका अनुसार नयाँ शैक्षिक सत्रमा बालबालिकालाई भर्ना गर्दा र आवश्यक सामान किन्दा ४०.२ प्रतिशत अभिभावकले ऋण लिनु परेको देखिएको छ । तीमध्ये धेरैले आफन्त, बैंक वा सामाजिक कल्याणकारी संस्थाहरूबाट रकम सापट लिएका हुन् ।
खर्च अभावका कारण धेरै अभिभावकले आफ्नो जीवनशैलीमा समेत निकै कटौती गरेका छन् । करिब ४० प्रतिशत अभिभावकले बालबालिकाको स्कुल खर्च जुटाउन खानाको मात्रा घटाएको वा जन्मदिन र क्रिसमस जस्ता उत्सवहरूको खर्च कटौती गरेको बताएका छन् । त्यस्तै, २० प्रतिशतले औषधि र उपचार खर्चमा समेत कटौती गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।
अभिभावकहरूका लागि सबैभन्दा ठूलो आर्थिक भार विद्यालयको पोशाक (युनिफर्म), खेलकुदका लुगा, पाठ्यपुस्तक, भर्ना शुल्क र डिजिटल सिकाइका लागि आवश्यक ट्याब्लेट वा कम्प्युटरले थपिदिएको छ ।
जापान सरकारले न्यून आय भएका परिवारका लागि ‘स्कलरशिप अनुदान’ को व्यवस्था गरे पनि त्यसको प्रक्रिया झन्झटिलो र ढिलो भएको गुनासो बढेको छ । सर्वेक्षणमा सहभागी ७१.३ प्रतिशत अभिभावकले सरकारी अनुदान भर्ना भइसकेपछि मात्र आउने भएकाले त्यसको खासै प्रभावकारिता नभएको बताएका छन् । भर्ना अगाडि नै आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।
यस सर्वेक्षणले जापानमा शिक्षा सहायता कार्यक्रमहरू विस्तार भए पनि वास्तविक आवश्यकता भएका परिवारहरूसम्म समयमै पुग्न नसकेको देखाएको छ, जसले गर्दा शैक्षिक संक्रमणकालीन समयमा विपन्न परिवारहरू थप ऋणको चपेटामा परिरहेका छन् ।








