Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानमा पछिल्लो पाँच महिनामा पहिलोपटक बेरोजगारी दरमा सामान्य वृद्धि भएको छ । सरकारी तथ्याङ्कअनुसार गत जनवरी महिनामा बेरोजगारी दर २.७ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिना २.६ प्रतिशत थियो । धेरैजसो कामदारहरूले अझ राम्रो अवसर र सेवा-सुविधाको खोजीमा पुरानो काम छाडेका कारण बेरोजगारी दर बढेको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार जनवरीमा रोजगारीमा रहेकाहरूको सङ्ख्या ६ करोड ८१ लाख ७० हजारमा झरेको छ । यता बेरोजगारहरूको सङ्ख्या भने ३.२ प्रतिशतले बढेर १९ लाख १० हजार पुगेको छ । कुल बेरोजगारमध्ये ८ लाख २० हजार जनाले स्वेच्छिक रूपमा काम छाडेका हुन्, जुन अघिल्लो महिनाको तुलनामा ७.९ प्रतिशतले बढी हो ।

मन्त्रालयका एक अधिकारीका अनुसार हिउँदे बोनस बुझेपछि धेरै कामदारहरूले उच्च तलब र राम्रो सेवा-सुविधाको खोजीमा जागिर छाड्ने गरेका छन् । श्रम मन्त्रालयको तथ्याङ्कले रोजगारी उपलब्धताको अनुपातमा पनि गिरावट देखाएको छ। जनवरीमा रोजगारी उपलब्धता अनुपात १.१८ कायम भएको छ, जसको अर्थ प्रत्येक १०० जना रोजगार चाहनेका लागि ११८ वटा काम उपलब्ध छन् । यो अनुपात डिसेम्बरमा १.२० थियो ।

क्षेत्रगत रूपमा होटल तथा रेस्टुरेन्ट र खुद्रा व्यापारमा नयाँ रोजगारीका अवसरहरू उल्लेख्य रूपमा घटेका छन् । तर, शिक्षा, उत्पादन र प्राविधिक क्षेत्रमा भने नयाँ विज्ञापनहरूमा सामान्य वृद्धि देखिएको छ । बढ्दो लागत र मूल्यवृद्धिका कारण कम्पनीहरूले कार्यदक्षता बढाउन ‘आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोगलाई तीव्रता दिएकाले पनि श्रम बजारमा केही प्रभाव परेको अधिकारीहरूको विश्लेषण छ ।

 

तपाईको प्रतिक्रिया