Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – प्याज काट्दा आँसु आउने र हातमा कडा गन्ध रहने समस्याबाट अब मुक्ति मिल्ने भएको छ । जापानको होक्काइडो टापुमा ‘स्माइल बल’ नामक यस्तो विशेष प्रजातिको प्याजको उत्पादन सुरु गरिएको छ, जसलाई काट्दा आँसु आउँदैन र काँचै खाँदा पनि पिरो हुँदैन । जापानको प्रसिद्ध खाद्य कम्पनी ‘हाउस फुड्स ग्रुप’ ले विकास गरेको यस प्याजको लोकप्रियता बढेसँगै सन् २०२९ सम्ममा यसको उत्पादन पाँच गुणाले बढाएर १,००० मेट्रिक टन पुर्‍याउने लक्ष्य राखिएको छ ।

यो प्रजातिको विकासको कथा रोचक छ । सन् १९९० को दशकमा ‘करी’ बनाउने क्रममा प्याज र लसुन मिसाउँदा किन हरियो हुन्छ भन्ने अध्ययन गर्दा वैज्ञानिकहरूले प्याजमा पिरोपन पैदा गर्ने एउटा विशेष इन्जाइम फेला पारेका थिए । सोही इन्जाइमको प्रतिक्रियालाई रोकेर सन् २०१२ मा ‘स्माइल बल’ प्याज विकसित गरियो। यस नवीन खोजका लागि अनुसन्धान टोलीले सन् २०१३ मा रसायनशास्त्रतर्फको ‘इग नोबेल पुरस्कार’ समेत प्राप्त गरेको थियो ।सामान्य प्याजको पिरोप हटाउन यसलाई पानीमा भिजाउने गरिन्छ, जसले गर्दा यसमा भएका पानीमा घुलनशील पोषक तत्वहरू नष्ट हुन्छन् । तर, ‘स्माइल बल’ लाई पानीमा भिजाउनु पर्दैन । यसलाई काँचै खान सकिने र पकाउँदा निकै गुलियो र नरम हुने भएकाले रेस्टुरेन्ट र सलाद पसलहरूमा यसको माग उच्च छ । यसको विकासमा २० वर्षदेखि संलग्न विशेषज्ञ नोरिया मासामुरा भन्छन्, ‘यसलाई अलि बाक्लो गरी काटेर जैतुनको तेल र नुनसँग सलादको रूपमा खाँदा यसको वास्तविक स्वाद पाइन्छ ।’

हाल यो प्याज मुख्यतया होक्काइडो क्षेत्रमा उत्पादन भइरहेको छ । प्रतिकूल मौसम र खडेरीमा पनि राम्रो उत्पादन दिने गरी यसको खेती विस्तार गरिँदैछ । हाल जापानका सुपरमार्केटहरूमा दुईवटा ठूला प्याजको मूल्य करिब २७८ देखि २९८ येन (करिब २५० नेपाली रुपैयाँ) कायम गरिएको छ । उपभोक्ताहरूले यसलाई मन पराउनु र किसानहरूले पनि यसको खेतीमा चासो देखाउनुले आगामी दिनमा ‘स्माइल बल’ प्याजको भविष्य उज्ज्वल देखिएको छ ।

 

तपाईको प्रतिक्रिया