काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) मा इरानले गरेको पछिल्लो भीषण हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाको मृत्यु भएको छ । युएईको रक्षा मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार उक्त आक्रमणमा परि ज्यान गुमाउनेमा नेपाल, पाकिस्तान र बंगलादेशका एक–एक जना नागरिक रहेका छन् ।
युएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीले युएई सरकारको आधिकारिक जानकारी उद्धृत गर्दै एक नेपालीको मृत्यु भएको पुष्टि गरेका छन् । यद्यपि, मृतकको विस्तृत परिचय र ठेगाना भने अझै खुल्न सकेको छैन । राजदूत क्षेत्रीले भने, ‘हामीलाई एक नेपालीको मृत्यु भएको औपचारिक जानकारी प्राप्त भएको छ, अहिले हामी सम्बन्धित निकायसँग समन्वय गरेर मृतकको परिचय खुलाउने प्रयासमा छौं ।’
रक्षा मन्त्रालयका अनुसार इरानले युएईलाई लक्षित गरी ठूलो संख्यामा हवाई हतियार प्रयोग गरेको थियो । आक्रमणमा १६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा अत्याधुनिक ड्रोन प्रहार गरिएको थियो । युएईको शक्तिशाली हवाई रक्षा प्रणालीले अधिकांश मिसाइल र ड्रोनहरूलाई आकाशमै ध्वस्त बनाइदिए पनि ३५ वटा ड्रोनहरू भने मुलुकका विभिन्न भू–भागमा खसेका थिए ।
खसेका मध्ये २१ वटा ड्रोनले सिधै नागरिक बस्ती र भौतिक संरचनालाई निशाना बनाएका थिए, जसका कारण ठूलो मानवीय क्षति हुन पुगेको हो ।
५८ जना घाइते, उपचार जारी
यस आक्रमणमा परी ज्यान गुमाउने बाहेक ५८ जना विदेशी नागरिक घाइते भएका छन् । घाइते हुनेहरूमा नेपाल, भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तान लगायत १५ विभिन्न मुलुकका नागरिकहरू रहेका छन् । मन्त्रालयका अनुसार घाइते सबैको अवस्था हाल खतरामुक्त छ र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।
पछिल्लो समय मध्यपूर्वमा बढ्दै गएको तनावका बीच भएको यस आक्रमणले त्यहाँ रहेका आप्रवासी श्रमिकहरूमाझ चिन्ता बढाएको छ । युएई सरकारले आफ्ना नागरिक र त्यहाँ कार्यरत विदेशीहरूको सुरक्षाका लागि रक्षा प्रणालीलाई थप मजबुत बनाइएको दाबी गरेको छ ।








