टोकियो – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्युपछि मध्यपूर्वमा उत्पन्न तनावका बीच जापानले अमेरिकी र इजरायली सैन्य कारबाहीप्रति तत्काल कुनै स्पष्ट समर्थन वा आलोचना जनाएको छैन । जापानले हालको परिस्थिति र यसबाट पर्न सक्ने प्रभावबारे विस्तृत सूचना संकलन गरिरहेको बताएको छ ।
प्रधानमन्त्री सानाय ताकाइचीले सम्बन्धित मन्त्रालय र निकायहरूलाई यस आक्रमणबाट जल तथा हवाई यातायात र अर्थतन्त्रमा पर्न सक्ने असरको गहिरो विश्लेषण गर्न निर्देशन दिएकी छन् । उनले मध्यपूर्वमा रहेका जापानी नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका हुन् ।
आफ्नो प्रमुख सहयोगी राष्ट्र अमेरिका र इजरायलले शनिबार इरानमाथि गरेको आक्रमणका विषयमा जापानले सन्तुलित धारणा राख्दै आएको छ । इरानसँग परम्परागत रूपमै मैत्रीपूर्ण सम्बन्ध रहेको जापानका लागि मध्यपूर्वको स्थिरता निकै महत्वपूर्ण मानिन्छ । विशेषगरी, जापानको ऊर्जा सुरक्षाका लागि अत्यावश्यक कच्चा तेल आयात हुने ‘स्ट्रेट अफ हर्मुज’ को सुरक्षालाई टोकियोले उच्च प्राथमिकतामा राखेको छ ।
यसैबीच, जी–७ राष्ट्रका विदेशमन्त्रीहरूसँगको कुराकानीमा जापानी परराष्ट्रमन्त्री तोशिमित्सु मोटेगीले इरानको आणविक मुद्दालाई ‘वार्ताका माध्यमबाट’ समाधान गर्नुपर्ने जापानको अडान दोहोर्याएका छन् । उनले इरानले आणविक हतियार विकास गर्न नहुने कुरामा जोड दिँदै यसका लागि जापानले कूटनीतिक प्रयास जारी राख्ने बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत ८६ वर्षीय खामेनीको मृत्युको पुष्टि गरेपछि क्षेत्रमा तनाव चुलिएको हो । इरानी सञ्चारमाध्यमले पनि खामेनीको मृत्यु भएको पुष्टि गरिसकेका छन् । जापानले इरानमा रहेका आफ्ना नागरिकहरूलाई तत्काल स्वदेश फर्कन र अन्य मध्यपूर्वी देशहरूमा रहेका जापानीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिसकेको छ ।








