Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानमा कार चोरीका घटनाहरूमा लगातार वृद्धि भइरहेको छ । सन् २०२५ मा मात्र मुलुकभर ६ हजार ३ सयभन्दा बढी कार चोरीका घटना दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३०० ले बढी हो ।

वृद्धिसँगै जापानी प्रहरीले ‘टोकुर्यू’ भनिने अज्ञात र अस्थायी आपराधिक समूहहरूमाथि आफ्नो कारबाही तीव्र पारेको छ । राष्ट्रिय प्रहरी निकायका अनुसार कार चोरीका घटनाहरू विगत चार वर्षदेखि निरन्तर उकालो लागिरहेका छन् । चोरहरूको मुख्य निशानामा विशेषगरी टोयोटाका ‘ल्याण्ड क्रुजर’ र ‘प्रियस’ जस्ता लोकप्रिय मोडलहरू पर्ने गरेका छन् ।

अनुसन्धानका क्रममा चोरी भएका गाडीहरूलाई ‘यार्ड’ भनिने विशेष कार्यशालाहरूमा लगेर पार्टपूर्जा छुट्याउने गरिएको पाइएको छ । त्यसपछि ती गाडी वा पार्टपूर्जाहरूलाई कन्टेनरमा लोड गरी अवैध रूपमा विदेश निर्यात गर्ने गरिएको छ ।

गत अक्टोबरमा टोकियो प्रहरीले यस्तै एउटा संगठित गिरोहको पर्दाफास गरेको थियो । उक्त घटनामा योकोहामा बन्दरगाहबाट संयुक्त अरब इमिरेट्स (यूएई) पठाउन लागिएका चोरीका गाडीहरू जहाजमा लोड हुनुअगावै बरामद गरिएको थियो ।

‘टोकुर्यू’ समूहहरूले यस्ता चोरीका गाडीहरूबाट ठूलो आर्थिक लाभ लिइरहेको प्रहरीको निष्कर्ष छ । गाडी चोरीको यो संगठित जालो तोड्न प्रहरीले अहिले शंकास्पद कार्यशाला र ‘यार्ड’हरूमा छापा मार्ने कामलाई प्राथमिकता दिएको छ ।

तपाईको प्रतिक्रिया