टोकियो – टोकियोको महानगरीय प्रहरीले करिब एक वर्षअघि भएको एक ठुलो ग्याङ फाइटको सम्बन्धमा १६ देखि १८ वर्ष उमेर समूहका २३ जना किशोरहरूलाई पक्राउ गरेको छ । घातक हतियारसहित समूह बनाई अशान्ति मच्चाएको अभियोगमा उनीहरूलाई फेब्रुअरी १९ मा सार्वजनिक गरिएको हो ।
प्रहरीका अनुसार उक्त हिंसात्मक झडप २० फेब्रुअरी २०२५ का दिन टोकियोको बाहिरी भेगमा पर्ने फुस्सास्थित एक हाउजिङ कम्प्लेक्समा भएको थियो । झडपमा कानागावा प्रान्तको सागामिहारामा आधारित ‘सुइरेन’ नामक बाइकर ग्याङका ४० सदस्य र हाचियोजी सहरमा सक्रिय ‘क्योवाकाई’ नामक किशोर समूहका २० सदस्य गरी कुल ६० जना सहभागी थिए ।
अनुसन्धानका क्रममा दुई समूहबीच एक-अर्काले ‘खिल्ली उडाएको’ वा ‘हेपेको’ निहुँमा विवाद सुरु भएको खुलेको छ । सोही विवादका कारण फुस्सामा ठुलो भिडन्त हुनुभन्दा एक दिनअघि पनि सागामिहारामा यी दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका किशोरहरूमाथि मेटल ब्याट र फलामका पाइप जस्ता हतियार बोकी फुस्साको सडकमा जम्मा भएको अभियोग लगाइएको छ । प्रहरी सोधपुछका क्रममा २२ जना किशोरले ‘अर्को समूहलाई ठेगान लगाउन’ आफूहरू हतियारसहित भेला भएको स्वीकार गरेका छन् भने एक किशोरले आफूलाई घटनाबारे केही याद नभएको दाबी गरेका छन् ।
उक्त सामूहिक झडपमा केही किशोरहरू घाइते भएका थिए । यद्यपि, उनीहरूको चोटपटक गम्भीर नरहेको र कसैलाई पनि अस्पताल भर्ना गर्नु नपरेको समाचारमा उल्लेख छ । जापानमा पछिल्लो समय युवाहरूबीच यस्ता समूहगत भिडन्तका घटना बढ्न थालेपछि प्रहरीले निगरानी र कारबाहीमा कडाइ गरेको छ ।








